Breaking News
चितवन कांग्रेसको नेतृत्व छनोटमा अलमल, भोलि नयाँ अधिवेशन घोषणा हुने आशा

चितवन, माघ २६-
नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्व चयनको कार्यमा अलमल भएको छ ।
कहिले कोरोनालाई कारण देखाउँदै त कहिले एमालेको केन्द्रीय महाधिवेशनको कारणले स्थगित भएको जिल्ला अधिवेशन अहिलेसम्म घोषणा हुन सकेको छैन । अब स्थानीय तहको निर्वाचन घोषणा भएको अवस्थामा छिट्टै नेतृत्व जसरी पनि छनोट गर्नुपर्ने बाध्यता रहेको कांग्रेस नेताहरुले बताएका छन् ।
कांग्रेस चितवनमा सभापति जितनारायण श्रेष्ठले भोलि बस्ने केन्द्रीय कार्यसम्पादनको बैठकले रोकिएका जिल्ला अधिवेशनहरुको छिनोफानो गर्ने नारायणी अनलाइनलाई बताए । नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले नयाँ नेतृत्व चयन नभए पनि पुरानै नेतृत्वले काम गरिरहेको विचार राखे । उनले भने, ‘नेपाली कांग्रेसले मातहतका निकायलाई स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशन दिएको छ । हामीले सोही अनुसार पार्टीका गतिविधिलाई सञ्चालन गरिरहेका छौं ।
सुरुमा मंसिर ९ गते उम्मेदवारी मनोनयन र १० गते मतदान तोकिएको थियो । सो मिति पछि एक दिन पर सारिएको थियो ।
१० गतेलाई तय भएको मनोनयन दर्ता र ११ गते मतदान गर्न पनि यातायात र आवास व्यवस्थापन गर्न कठिनाइ हुने भन्दै एमाले अधिवेशनको कारणले सारियो । कांग्रेस चितवनले प्रदेश अधिवेशनपछि जिल्ला अधिवेशन गर्ने भनेर मिति पनि तोक्यो तर कोरोनाको अर्काे लहरको कारणले हुन सकेन । चितवनमा जिल्ला अधिवेशनभन्दा तलका सबै इकाइका अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यक्रम सकिएको छ ।
सचिवका आकांक्षी दवाडी भन्छन् सारै पीडा भयो
नेपाली कांग्रेस चितवनको सचिव पदका आकांक्षी भरतप्रसाद दवाडीले अधिवेशन पटकपटक सर्दा साह्रै पीडा हुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘मेरो काम त जनताको सेवा नै हो तर पनि जनताको माझमा जाँदा अधिवेशन त गर्न सकेको छैन भन्ने जस्तो अनुभव हुँदो रहेछ । चार पाँचचोटी सरिसक्यो । क्यालेन्डर अनुसार गर्न नसक्नु सारै बेथिति नै हो ।’
























