Breaking News

झण्डै दुई अर्ब ५० करोडको लागतमा भरतपुरका विद्युतीय तार दुई वर्षभित्र भूमिगत गर्ने तयारी

०
Banner

प्रतिमा कुमाल

चितवन, माघ २४

अबको दुई वर्ष भित्र भरतपुरका विभिन्न क्षेत्रका विद्युतीय तार भूमिगत हुने भएको छ ।

पुलचोकबाट पारस बसपार्क, आपटाँरी हुँदै पुलचोकसम्मका विद्युतीय तार पहिलो चरणमा भूमिगत हुने भएको हो ।

विद्युत कार्यालय आपटाँरी सबस्टेसनका इञ्जिनियर विनोद सापकोटाले पारस बसपार्कदेखि गोन्द्राङसम्म ३३ केभी पनि भूमिगत हुने योजना रहेको जानकारी दिए । २०२१ अक्टोबर ८ तारिखमा आयोजनाको सम्झौतामा हस्ताक्षर भए बमोजिम भारतको टाटा कम्पनीले यसको जिम्मा लिएको छ ।
तार भूमिगत गर्नका लागि सर्वेक्षणको काम भइरहेको सापकोटाले बताए । उनले परियोजना डिजाइनको प्रक्रियामा रहेकोले यो काम सकिएपछि निर्माणमा लाग्ने बताए । तार भूमिगत गर्नका लागि नेपाली करिब २५० करोड रुपैयाँ अनुमानित बजेट लाग्ने जनाइएको छ ।

प्राधिकरणले एसियाली विकास बैँकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको हो । महानगरपालिका सबै क्षेत्रमा भूमिगत विद्युत वितरण गर्ने लक्ष्य रहे पनि त्यसलाई चरणबद्ध रुपमा काम अघि बढाउने योजना प्राधिकरणको रहेको छ । काठमाडौं महानगरपालिकापछि विद्युत् लाइन भूमिगत गर्ने योजनामा भरतपुरलाई प्राथमिकतामा राखिएको छ । शहरी सौन्दर्यता समेत कायम गर्ने गरी यो क्षेत्रमा पहिलो चरणमा काम गरिने महानगरपालिकाकी मेयर रेनु दाहालले विभिन्न कार्यक्रममा बताउँदै आएकी छन् ।

प्राधिकरणले भूमिगत तार बिछ्याउँदा नेपाल टेलिकम, केबुल प्रदायक कम्पनी र इन्टरनेट कम्पनीसँग पनि समन्वय गर्ने योजना बनाएको छ । उनीहरु सबैका तारलाई क्यानलबाट घुसाउने योजना रहेको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । विद्युतसहित इन्टरनेट र टेलिकमका तारहरु पनि भूमिगत गर्दा भरतपुर र नारायणगढ बजारको सौन्दर्यकरण भइ आर्कषक देखिने बताइएको छ ।

प्रतिकात्मक तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>