Breaking News

झण्डै दुई अर्ब ५० करोडको लागतमा भरतपुरका विद्युतीय तार दुई वर्षभित्र भूमिगत गर्ने तयारी

Banner

प्रतिमा कुमाल

चितवन, माघ २४

अबको दुई वर्ष भित्र भरतपुरका विभिन्न क्षेत्रका विद्युतीय तार भूमिगत हुने भएको छ ।

पुलचोकबाट पारस बसपार्क, आपटाँरी हुँदै पुलचोकसम्मका विद्युतीय तार पहिलो चरणमा भूमिगत हुने भएको हो ।

विद्युत कार्यालय आपटाँरी सबस्टेसनका इञ्जिनियर विनोद सापकोटाले पारस बसपार्कदेखि गोन्द्राङसम्म ३३ केभी पनि भूमिगत हुने योजना रहेको जानकारी दिए । २०२१ अक्टोबर ८ तारिखमा आयोजनाको सम्झौतामा हस्ताक्षर भए बमोजिम भारतको टाटा कम्पनीले यसको जिम्मा लिएको छ ।
तार भूमिगत गर्नका लागि सर्वेक्षणको काम भइरहेको सापकोटाले बताए । उनले परियोजना डिजाइनको प्रक्रियामा रहेकोले यो काम सकिएपछि निर्माणमा लाग्ने बताए । तार भूमिगत गर्नका लागि नेपाली करिब २५० करोड रुपैयाँ अनुमानित बजेट लाग्ने जनाइएको छ ।

प्राधिकरणले एसियाली विकास बैँकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको हो । महानगरपालिका सबै क्षेत्रमा भूमिगत विद्युत वितरण गर्ने लक्ष्य रहे पनि त्यसलाई चरणबद्ध रुपमा काम अघि बढाउने योजना प्राधिकरणको रहेको छ । काठमाडौं महानगरपालिकापछि विद्युत् लाइन भूमिगत गर्ने योजनामा भरतपुरलाई प्राथमिकतामा राखिएको छ । शहरी सौन्दर्यता समेत कायम गर्ने गरी यो क्षेत्रमा पहिलो चरणमा काम गरिने महानगरपालिकाकी मेयर रेनु दाहालले विभिन्न कार्यक्रममा बताउँदै आएकी छन् ।

प्राधिकरणले भूमिगत तार बिछ्याउँदा नेपाल टेलिकम, केबुल प्रदायक कम्पनी र इन्टरनेट कम्पनीसँग पनि समन्वय गर्ने योजना बनाएको छ । उनीहरु सबैका तारलाई क्यानलबाट घुसाउने योजना रहेको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । विद्युतसहित इन्टरनेट र टेलिकमका तारहरु पनि भूमिगत गर्दा भरतपुर र नारायणगढ बजारको सौन्दर्यकरण भइ आर्कषक देखिने बताइएको छ ।

प्रतिकात्मक तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>