Breaking News
भरतपुरमा गैँडा मृत्युको घटनामा एकले अर्काेलाई दोष लगाउने प्रवृत्ति गलत

चितवन, माध २२-
भरतपुरमा निर्माणधीन सडकको खाडलमा परेर गैँडा मरेको घटनामा एकले अर्काेलाई दोष लगाउने प्रवृत्ति गलत भएको सरोकारवालाहरुले बताएका छन् ।
आज प्रेस चौतारी चितवनले २४ औं स्थापना दिवसको अवसरमा गरेको ‘वन्यजन्तु संरक्षण र विकासः आवश्यकता र चुनौती’ विषयको अन्तरक्रिया कार्यक्रममा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुंगानाले गैँडा प्रकरणबाट उम्कने हेतुले एकले अर्काेलाई दोष देखाउने काम भइरहेको बताएका छन् ।
उनले भने, ‘उसले उसलाई दोष लगाउँदै आफू जिम्मेवारीबाट पन्छिन खोज्नु एकदमै गलत हो । गैँडा मर्नुमा निर्माण कम्पनी, सडक डिभिजन, मध्यवर्ती, निकुञ्ज, सरकार, पत्रकार सबैको दोष छ । उसले उसलाई दोष लगाउन छोडौं’, उनले भने । केही दिन अगाडि भरतपुरमा निर्माणाधीन पुल्चोकदेखि गोन्द्राङ सडकको खाडलमा खसेर एक भाले गैँडाको मृत्यु भएको थियो । संरक्षणसहितको विकास जरुरी रहेको भन्दै अध्यक्ष ढुंगानाले वातावरण र वन्यजन्तुको संरक्षण गर्न नसक्दा पानीको स्रोत घट्दै गएको धारणा राखे । १० फिट गहिराइमा पाइने पानी अहिले ३० फिट भन्दा धेरै तल पुगिसकेको उनले जीकिर गरे ।
त्रिभुवन विश्वविद्यालयका विज्ञ कृष्ण काफ्लेले साधारण मनोविज्ञान प्रयोग गर्न नसक्दा वन्यजन्तुको नास भएको बताएका छन् । सम्बेदनशील क्षेत्रमा फाइदा नराखी काम गर्न उनले आग्रह गरे । काफ्लेले विश्व जंगल संरक्षणको दिशामा लागिँरहदा नेपाल उल्टो दिशामा लागेको बताए ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले वन्यजन्तु र जंगलको रक्षा गर्ने दायित्व निकुञ्जको मात्र नभएको बताए । उनीहरुको अधिकार र सम्मान गर्ने काम सबैको भएको उनको भनाइ थियो । विकास र संरक्षणलाई सन्तुलित ढङगले लग्नु पर्ने तिवारीले बताए ।
निमार्णव्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलले हचुवाको भरमा निर्माण व्यवसायीलाई कारबाही नगर्न अनुरोध गरेका छन् । दुर्लभ एक सिंगे गैँडा मृत्यु प्रकरणमा व्यवसायीमाथि जारी पक्राउ पूर्जी गलत भएको बताए । निर्माण व्यवसायीलाई होतोत्साही बनाउने काम भएको कँडेलको भनाइ छ । निर्माण व्यवसायीको काम के के हो त्यो भन्नुपर्छ भन्दै घटना घटेपछि मात्र वातावरणीय प्रभाव मूल्याङकन भएन भएको कुरा गर्न नमिल्ने उनको भनाइ थियो । उनले वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने काम निर्माण कम्पनीहरुको नभएको जीकिर गरे ।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले विकासको अवधारणालाई राम्रोसँग अगाडि बनाउन नसक्दा चुनौती थपिएको बताएकी छन् । मानव जीवनलाई व्यवस्थित बनाउन विकासको महत्व जति छ, वातावरण संरक्षण गर्ने दायित्व पनि त्यतीनै रहेको बताए । कार्यक्रममा उपस्थित केही पत्रकारहरुले वातावरण, जंगल, वन्यजन्तु संरक्षणमा लगानीकर्ता र विनासकर्ता दुवै राज्यपक्ष भएको बताएका थिए । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा गैँडा मृत्युको घटनामा पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ सरोकारवालाहरुले दिएका थिए ।























