Breaking News
चितवनमा रगतको अभाव, दैनिक १०० युनिट रगत पुर्याउन धौधौ

पूजा ढकाल
चितवन, माघ २२-
कोरोनाका कारण चितवनमा रगतको अभाव खड्किएको छ ।
पछिल्लो दुई वर्ष यता चितवनमा कोरोना संक्रमित बिरामीको संख्यामा उथलपुथल भइरहेकोले रगतको अभाव खड्किएको हो ।
कोरोनाको कारणले खुला कार्यक्रममा कमी आएकोले रगतको अभाव भएको छ । चितवनमा देशका सबै जिल्लासहित भारतदेखि विभिन्न रोगका बिरामी उपचारका लागि आउने गर्छन् । प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख रमेशकुमार पौडेलले अहिले जिल्लामा कोरोना संक्रमण र कोरोना खोपका कारण रगतको चरम अभाव भएको बताए । कोरोना भ्याक्सिन लगाएपछि तत्कालै रक्तदान गर्न नमिल्ने प्रावधान रहेको छ । पौडेलले भने, ‘कोरोनाविरुद्धको खोप लगाएपछि १५ दिनसम्म रक्तदान गर्न नमिल्ने भएकोले पनि रगतको अभाव भएको छ । एकातिर रगत दिन नपाइने र अर्काेतिर खुला कार्यक्रम नहुनु नै अभावको मुख्य कारण हो ।’
जिल्लामा दैनिक ७० देखि ८० जना विभिन्न रोगका बिरामीलाई रगत आवश्यक पर्ने गरेको छ । पौडेल भन्छन् ‘अहिले जिल्लामा दैनिक १०० युनिट रगतको आवश्यक पर्ने गरेको छ । रगतको माग बढ्दो क्रममा नै रहेको छ ।’ त्यस्तै केन्द्रले जिल्लामा रगत अभाव भएको समयमा पोखरा, नवलपरासी र अन्य विभिन्न क्षेत्रबाट रगत ल्याउने गरेको पौडेलको भनाइ छ । अहिले मेडिकल सिटी भनेर चिनिने भरतपुरका ठूला आधा दर्जन अस्पतालमा दैनिक रगतको अभाव हुने गरेको छ । जसले गर्दा अहिले बिरामीका आफन्त र रक्तदातामा नै भर पर्नु परेको छ ।























