Breaking News

झिलीमिली हुँदै भरतपुरका सडक, वैशाखसम्ममा झण्डै दुई हजार स्मार्ट बत्ती जडान गरिँदै

Banner

मधुसूदन दवाडी

चितवन, माघ १९-

भरतपुर महानगरपालिका सडक झिलीमिली बन्ने भएका छन् ।

उज्यालो शहर अभियान सुरु गरेर स्मार्ट बत्तीमार्फत् भरतपुर महानगरका सडकलाई झिलीमिली बनाउन लागिएको हो ।

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा भरतपुरका विभिन्न सडकहरूमा स्मार्ट बत्ती जडानको कार्यक्रम सुरु गरिएको छ । ८० किमी सडकमा स्मार्ट सडक बत्ती जडानको कार्य भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले प्रचण्डमार्गअन्तर्गत भरतपुर–२५ शुक्रनगरमा मंगलबार सुभारम्भ गरेकी छन् ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ‘राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना’ अन्तर्गत मंगलबारदेखि महानगर भरी सडक बत्ती जडान कार्य सुरु गरेको जनाएको छ । साढे ११ करोड रुपैयाँमा ठेक्का दिइएको बत्ती जडान कार्य आगामी वैशाखसम्म सकिने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भनिन्, ‘ नेपालमा नै ठूलो संख्यामा भरतपुर महानगरपालिकामा वैशाखसम्म सक्ने गरी करिब दुई हजार स्मार्ट बत्ती जडान गर्दै छौं । यसमा १० प्रतिशत बजेट महानगरपालिकाको छ भने बाँकी सबै लगानी विद्युत् प्राधिकरणको छ ।’ उनले सुरक्षा र सुन्दरताको हिसाबले पनि भरतपुरलाई नेपालकै उत्कृष्ट शहर बनाउन लागिएको जानकारी दिइन् । उनले भनिन्, ‘भरतपुरका मुख्य बजारी क्षेत्रमा धेरै प्रकाश फाल्ने हाइमास्ट बत्ती जडान गर्न लागिएको छ । जसमा जिल्ला प्रशासन चोक, हाकिमचोक, चौबिसकोठी, सहिदचोक, पुलचोक, पोखरा बसपार्क दियालो बंगला चोक, मालपोत चोकलगायत छन् । बाँकी सडकहरुलाई पनि अर्काे चरणमा स्मार्ट बत्ती जडान गरेर झिलीमिली बनाइने योजना छ । ’

विद्युत् प्राधिकरण भरतपुरका प्रमुख राजिबकुमार सिंहका अनुसार ‘उज्यालो सहर अभियान’ मार्फत महानगरमा रातको समयमा यात्रु र सवारी साधनको आवतजावत सहज बनाउन सडक बत्ती जडान सुरु भएको हो ।

भरतपुर महानगरका ८ वटा रुटको ८० किलोमिटर सडकमा एक हजार ९३३ वटा स्मार्ट सडक बत्ती जडान गर्ने प्राधिकरणको योजना छ । हाकिम चोक–गितानगर–जगतपुर सडक खण्डको १८.४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । चौबिसकोटीदेखि मेघौलीसम्म २३.८ किलोमिटर सडकखण्डमा ५६५, मंगलपुरदेखि शुक्रनगर खण्डको २२.१३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोकदेखि दियालो बंगलासम्मको २.४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडक बत्ती जडान हुने जानकारी वितरण केन्द्रले दिएको छ ।

यस्तै, दियालोबंगलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७.८६ किलोमिटर सडक खण्डमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २.१७ किलोमिटर सडक खण्डमा ५० र विरेन्द्र क्याम्पस चोकदेखि बिशालचोकसम्मको १.२६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ । आयोजना सम्पन्न गर्न ११ करोड ४९ लाख ८९ हजार रुपैयाँ लाग्ने अनुमान छ । महानगरमा स्मार्ट सडक बत्ती जडानको ठेक्का सेफ स्टील, सूर्याेदय ऊर्जा र टफसन जेभीले पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>