Breaking News

ज्ञानको अभावले बालबालिकामा बढ्यो कुपोषण, झण्डै १४०० ले लिए भरतपुर अस्पतालमा सेवा

Banner

प्रतिमा कुमाल

चितवन, माघ १९-

फूलमाया महतो आफ्नो आठ महिनाको बच्चासहित भरतपुर अस्पताल पोषण पुनस्र्थापना गृहमा छन् । कावासोती घर भएकी महतोको बच्चा दुब्लो भएर हाड र छालामात्र बाँकी रहँदा उपचारको लागि यहाँ आएकी हुन् । अनावश्यकरुपमा मुख बार्दा उनले तेस्रो बच्चा गुमाउनुपर्ने अवस्थामा पुगेको उनले बताइन् । आफ्नै कमजोरीले बच्चालाई कुपोषण भएको उनी बताउँछिन् । उनले भनिन्, ‘घरपरिवार र छरछिमेकले टमाटर, सागपात खान हुन्न भने । बच्चालाई चिसो हुन्छ बिरामी पर्छ भनेर मैले मुख बारे । त्यस पछि बच्चा एकदमै कमजोर भयो । बच्चालाई झाडा पखला लाग्यो । हाड र छालामात्र बाँकी थियो । ’

बच्चाको स्वास्थ्यका लागि मुख बारेकी महतोले पोषणको कमीले अन्तिम अवस्थामा बच्चालाई पोषण गृहमा ल्याएकी हुन् । बच्चाको लागि कान्ती अस्पताल काठमाडौँसम्म धाएको उनले बताइन् । अस्पतालले कुपोषण भएको जनाएपछि भरतपुर अस्पताल आएको बताइन् । अस्पताल आएपछि मुख बार्न नहुने रैछ भन्ने थाहा पाएको अनुभव सुनाइन् । बच्चालाई लिटो, जाउलो कसरी खुवाउने, कुनकुन समय खुवाउने भन्ने सिकेको उनको भनाइ थियो । आफूले जानेका कुरा गाउँमा सबैलाई सिकाउने उनको भनाइ छ ।

धादिङकी सुजिता सुनार पनि आफ्नो १९ महिनाको बच्चा सहित पोषण गृहमा उपचारमा छन् । जन्मेदेखिनै बच्चाको तौल नबढे पछि स्वास्थ्य चौकीको सल्लाह अनुसार उनी यहाँ उपचारको लागि आएको बताइन् । भरतपुरकी पम्फा गुरुङ भने खाने कुरा मिलाएर खुवाउन नजान्दा बच्चा कुपोषणको सिकार भएको बताइन् । उनले भनिन्, ‘मेरो पहिलो बच्चा हो । तीन महिनाको भयो । बच्चालाई पखला चलेपछि भरतपुर अस्पताल आएँ । अस्पतालबाटै कुपोषण भएको थाहा पाएँ ।’ गुरुङले चिकित्सकहरुले प्रत्येक्षरुपमा खान खुवाउन सिकाउँदा आफूले नजानेरै रोग लागेको रहेछ उनको भनाइ थियो । उपचारको लागि ल्याउदा एक किलो ९०० ग्रामको बच्चा अहिले झन्डै तीन किलोको भएको उनले बताइन् ।

भरतपुर अस्पताल पोषण पुनस्र्थापना गृहकी इन्चार्ज सुशिला काफ्लेले गरिबीको कारणले मात्र कुपोषण नलाग्ने बताइन् । कुपोषण गरिबीसँग जोडिए पनि मुख्य कारण सूचनाको कमीले गर्दा हुने गरेको बताएकी छन् । उनले भनिन्, ‘कुपोषण गरिब धनी दुबैका बच्चालाई लाग्छ । हामीले धनीका बच्चाबच्चीलाई पनि उपचार गरेका छौँ । मुख्य गरी खाने कुरा खुवाउन नजान्दा, मिलाएर नखुवाउदा कुपोषण लाग्छ । सन्तुलित भोजन के हो जान्नु पर्छ । यहाँ आएका अधिकांश आमाहरुलाई भोजनको बारेमा केही थाहा नै हुदैन । ’

कुपोषित बच्चालाई आमाको सहभागितामा १५ दिनदेखि डेढ महिनासम्म अस्पतालमै राखेर उपचार गर्ने गरेको काफ्लेले बताइन् । बच्चाको बृद्धि विकासको लागि प्रत्येक दिन चार पटक सन्तुलित भोजन खुवाउनु पर्ने जस्ता कुराहरु सिकाउने गरेको बताइन् । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बच्चाहरुलाई जंगफुडबाट टाडा राख्न अनुरोध गरेका छन् । बजारिया खाने कुरामा पोषण नहुने र स्वास्थ्यका लागि हानिकारक हुने उनले बताए । यस्ता खाने कुराका कारणले पनि बच्चाहरु कुपोषणको शिकार भएको उनको भनाइ थियो ।

भरतपुर अस्पतालका अनुसार आर्थिक वर्ष २०७५\०७६ मा तीन हजार १५८ जनाले सेवा लिएका थिए । आव २०७६\०७७ मा एक हजार ७४९ र आब २०७७\०७८ मा करिब १४ सय कुपोषित बालबालिकाहरुको उपचार भएको थियो । चालु आर्थिक वर्षमा ७४ जनाको उपचार भएको छ । जस मध्ये सात जना उपचाररत छन् । पोषण गृहमा १० वटा बेड रहेका छन् । पोषण गृहमा नवलपुर, धादिङ, तनँहुु, गोर्खा र लम्जुुङबाट उपचारका लागि आउने गरेका छन् । अहिले कोरोना भाइरस (कोभिड–१९) का कारणले आउनेको संख्या घटेको अस्पतालले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>