चितवन विशेष

चितवनमा अंग्रेजी साहित्य लेखनलाई प्रोत्साहन गर्न नेपालकै पहिलो पुरस्कार स्थापना

Banner

चितवन, माघ १८-

नेपालमा अंग्रेजी भाषामा साहित्यमा कलम चलाउने स्रष्टाहरुलाई सम्मानको लागि पुरस्कार स्थापना गरिएको छ ।

चितवनका अंग्रेजी भाषाका कवि तथा साहित्यकार ईश्वर कँडेलले आफ्नो बुबा स्वर्गीय युवराज कँडेलको स्मरणमा सो पुरस्कारको घोषणा गरेका हुन् । पुरस्कार घोषणा कार्यक्रममा चितवनका साहित्यकारहरु एलबी क्षेत्री, डा केशव चालिसे, डा एकनारायण पौडेल र समालोचक उदय अधिकारीको उपस्थिति रहेको थियो ।

यस पुरस्कारलाई समालोचकहरुले अंग्रेजी भाषालाई प्रोत्साहन गर्न स्थापित नेपालकै पहिलो पुरस्कार भनेर चर्चा गरेका छन् । २५ हजार राशीको सो पुरस्कार हरेक वर्ष अंग्रेजी भाषामा कलम चलाउने साहित्यकारहरुलाई लेखकहरुको संस्था ‘भ्यु चितवन’ ले कार्यक्रम गरेर दिइने पुरस्कारका संरक्षक कँडेलले नारायणी अनलाइनलाई जानकारी दिए । उनका बुबा स्वर्गीय कँडेल भारतीय सेनामा १९ वर्ष सेवा गरेका थिए । भारतमा वृटिशहरुसँगको संगतका कारणले अंग्रेजी भाषामा राम्रो दख्खल रहेको थियो । नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नै अंग्रेजी साहित्य लेखनको सुरुवात गरेको मानिन्छ ।

भरतपुर महानगरपालिका–७ कृष्णपुरका स्थायी बासिन्दा पुरस्कारका संरक्षक साहित्यकार कँडेलले विद्यार्थी जीवनबाट विसं २०४४ सालबाट कविता लेखनमार्फत् साहित्यिक यात्रा सुरु गरेका हुन् । ब्रिटिस काउन्सिलमा शिक्षकहरुलाई तालिम दिने काममा सक्रिय रहँदै आएका कँडेलको ‘बाया’ अंग्रेजी कविता संग्रह, दोस्रो ‘इकोज’ अंग्रेजी उपन्यास प्रकाशन भइसकेको छ । अक्षर समूह चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कँडेलले हालसालै कलासम्बन्धी संस्था बीडको प्रमुखसमेत रहेका छन् । देशका विभिन्न ठाउँमा घुमफिर गर्दै फोटोग्राफीमा विशेष रुचि राख्ने कँडेल चराका फोटोहरु कैद गर्न विशेष रुचि राख्छन् । साहित्यकार कँडेलको नयाँ अंग्रेजी कविता संग्रह ‘ द सन अन द स्याण्ड’ माघको अन्तिमबाट बजारमा आउने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>