Breaking News
माडीको अयोध्याधाममा भक्तजनको संख्या बढ्दै, दिनकै १०० बढी भक्तजन पुग्न थाले

चितवन, माघ १७-
चितवनको माडी नगरपालिकामा रहेको अयोध्याधाममा दिनप्रतिदिन भक्तजनहरुको संख्या बढ्दै गएको छ ।
गत वर्षको रामनवमीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राम र सीताको मूर्ति राखिएपछि दैनिक भक्तजनको संख्या बढ्न थालेको हो ।
माडी नगरपालिकाकी उपमेयर ताराकाजी कुमारी महतोले अयोध्याधाममा टाढाटाढाबाट भक्तजनहरु आउनेक्रम बढ्न थालेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ मानिसहरुको चहलपहल पनि बढ्न थालेको छ । धाममा आएर भक्तजनहरु दैनिक पूजाआजा र भजनकीर्तन गरिरहन्छन् ।’ उनले अयोध्याधामको मास्टर प्लान बनिसकेको भए पनि ठूलो बजेटको योजना भएकोले संघीय सरकारबाटै बजेट निकासा हुनुपर्ने बताइन् । उनले अहिले स्थानीय तहबाट अयोध्याधामको संरक्षण र जग्गाको रेखदेख गर्ने काम मात्र भइरहेको नारायणी अनलाइनलाई बताइन् ।
केही दिन अघिमात्र माडीको अयोध्याधाममा अन्तर्राष्ट्रिय कृष्ण भावामृत संघको नेतृत्वमा ठूलो संख्यामा भक्तजनहरु पुगेका थिए । उनीहरुले त्यहाँ धार्मिक प्रवचन दिनुका साथै भजनकीर्तन र नाँचगानसमेत गरेको स्थानीयले जानकारी दिए । अयोध्याधाम रहेको माडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शिवहरि सुवेदीले अयोध्याधाममा दिनकै ५० जनादेखि १०० जना बढी भक्तजनहरु आउने गरेको नारायाणी अनलाइनलाई बताए । उनले भने, ‘अयोध्याधाममा चहलपहल बढ्दो क्रममा रहेको छ । दिनकै ठूलो संख्यामा भक्तजन र चार÷पाँच साना र ठूला गाडी नियमित आइरहन्छन् । ’ उनले भक्तजनको संख्या बढ्दै गएपछि धर्मशाला बनाउने योजना रहेको नारायणी अनलाइनलाई बताए । भक्तजनको संख्या बढेसँगै अमेरिकाकामा रहेका नेपालीहरुको श्रीराम संस्थाले धर्मशाला बनाउने प्रस्ताव ल्याएको उनले बताए । धर्मशाला बनेपछि टाढाटाढाबाट आएका भक्तजनहरुलाई खान र बस्न सहज हुने वडा अध्यक्ष सुवेदीको विचार छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बनाइएको राम–सीता र हनुमानको को मूर्ति रथ यात्रासहित माडीको अयोध्याधाममा गत वर्षको वैशाख ८ गते रामनवमीमा प्रतिस्थापन गरिएको थियो । विसं २०७७ असार २९ गते पूर्वप्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया सुरु भएको थियो । मूर्तिलाई पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित रथमा राखेर माडी ल्याइएको थियो ।
पूर्वप्रधानमन्त्री ओलीबाट कलश र बग्गीसहितको शोभायात्राको प्रारम्भ गरी एक दिन देवघाटमा आएर बसेर भोलिपल्ट मूर्ति पुजन गरेर फेरि माडीतर्फ लगिएको थियो । चार वटा मूर्तिलाई चार वटा रथमा राखेर भद्रकालीसम्म एक हजार ८ कलश र बग्गीसहित रथ शोभायात्रा निस्कएको थियो । त्यसपछि नागढुंगासम्म बग्गी र सयौँ गाडीको लस्करसहित रथयात्रा आएको थियो । माडीमा सोमेश्वरगढी, वाल्मीकि आश्रम, परशुराम कुण्ड, बैकुण्ठ धामलगायत थुप्रै धार्मिक स्थलहरु रहेका छन् ।

























