Breaking News
चितवनमा घट्यो कोरोना संक्रमण, चिकित्सक भन्छन्ः दैनिक ४७ मा झर्यो, अब बढ्दैन

चितवन, माघ १६-
चितवनमा कोरोना संक्रमण दर एक हप्तामै ह्वात्तै घटेको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार विगत २४ घण्टामा ४७ जनामा मात्र कोरोना सक्रमण देखिएको हो । एक हप्ताअघि मात्र प्रत्येक दिन चार सय भन्दा बढी कोरोना संक्रमित चितवनमा थपिएका थिए ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर महानगरपालिकामा ३९ जना, खैरहनी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा पाँच जना, राप्ती नगरपालिकामा एक जना र कालिका नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले एक हप्ता अघिको तुलनामा कोरोना संक्रमण दर कम देखिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ माघ १६ भइसक्यो अब कोरोना संक्रमण दर चितवनमा नबढ्ने सम्भावना देखिएको छ । धेरै नागरिकले खोप लगाइसकेका छन् भने धेरैजसो संक्रमित भएर निको भएका छन् । सबैमा इम्युनिटी पावर बढ्दै गएकोले पनि अब कोरोना संक्रमण बढ्न सक्दैन ।’ डा पौडेलले भरतपुर अस्पतालको आईसीयूमा १० जना कोरोना संक्रमित रहे पनि उनीहरु कोरोनाको कारणले भन्दा पनि अन्य रोगको कारणले आईसीयूमा बस्नुपरेको जानकारी दिए । उनले सामान्य रुखा, खोकी र घाँटी दुख्ने मात्र अहिले लक्षण देखिएको बताए । उनले भने, ‘कोरोना कमजोर बन्दै गएको देखिन्छ अब अर्काे नयाँ भेरियन्ट झन् कमजोर आउँन पनि सक्छ र झनै कडा आउन पनि सक्छ ।’
स्वास्थ्य कार्यालयका अनुसार चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार ४३ जना पुगेको छ जसमध्ये घरमा आइसोलेसनमा चार हजार पाँच जना र अस्पतालको आइसोलेसनमा ३८ जना रहेका छन् । एक हप्ताअघि माघ ८ गते चितवनमा कोरोना संक्रमण दैनिक ४०८ जनालाई देखिएको थियो ।
























