चितवन विशेष

प्रेस चौतारीबाट प्राप्त पुरस्कार रकमले माडीका बालबालिकालाई सहयोग

Banner

चितवन, माघ १५-

चितवनका सञ्चारकर्मी नारायण सापकोटाले आफूले पाएको पुरस्कार रकमले माडीका बालबालिकालाई सहयोग गरेका छन् ।

माडी नगरपालिका वडा नं ९ हनुमानझुला, भालु खोला, श्रीदमार र गोबिन्दबस्तीका विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई पत्रकार सापकोटाले कापी सहयोग गरेका हुन् ।

सापकोटाले प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं जिल्ला अधिवेशनका अवसरमा स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट प्राप्त पुरस्कारको रकमबाट विपन्न परिवारका विद्यार्थीलाई आज कापी सहयोग गरेका छन् ।

कापी हस्तान्तरण गर्दै माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतोले विपन्न परिवारका विद्यार्थीहरुका लागि सहयोग गर्ने सहयोगी नारायण सापकोटाप्रति धन्यवाद ज्ञापन गर्दै सहयोगले बालबालिकाको शैक्षिक विकासमा सहयोग पुग्ने बताए ।

सोही वितरण कार्यक्रममा नेकपा एमाले माडी नगर कमिटीका सचिव श्रीप्रसाद दवाडीले विकासको आधारनै शिक्षा भएको हुनाले विकासको लागि बालबालिकाको शिक्षामा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो पुरस्कारको रकम बालबालिकाको लागि सहयोग गर्ने सहयोगीप्रति धन्यवाद ज्ञापन गरे ।

सहयोगको कापी ग्रहण गर्दै माध्यमिक विद्यालय हनुमानझुलाका पूर्वप्रधानाध्यापक एजी परियारले अहिलेको विषम परिस्थितिमा आएको कापीले विपन्न परिवारका विद्यार्थीहरुको अध्ययनमा सहयोग पुग्ने बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा आधारभूत विद्यालय भालु खोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुठबहादुर भुजेल, आधारभूत विद्यालय शिरुदमारका अध्यक्ष भक्तबहादुर प्रजा, आधारभूत विद्यालय गोविन्दबस्तीका प्रधानाध्यापक विश्वनाथ घिमिरे, सशस्त्र प्रहरी बल बाँदरझुलाका प्रहरी निरीक्षक गोविन्द खड्का, समाजसेवी मानबहादुर बिष्टलगायतको उपस्थिति रहेको थियो । सञ्चारकर्मी एवम् शिक्षक नारायण सापकोटाले माडीका विभिन्न विद्यालयहरुमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई स्टेशनरी सामान र ड्रेसको अभाव भएकोले सहयोग गर्न सहयोगी महानुभावहरुलाई हार्दिक अनुरोधसमेत गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>