Breaking News

गैँडा मृत्युबारे छानबिन गर्न चितवन आएको उच्चस्तरीय सरकारी टोली तीन दिनदेखि परामर्शमा

Banner

चितवन, माघ १५-

चितवनमा सडक नालीमा खसेर गैँडा मरेको घटनाबारे वन तथा वातावरण मन्त्रालयले गठन गरेको उच्चस्तरीय सरकारी छानबिन समितिले चितवनमा विभिन्न पक्षसँग परामर्शमा जुटेको छ ।

घटनाबारे जिल्लाका विभिन्न पक्षसँग विगत तीन दिनदेखि टोलीले छलफल तथा परामर्श गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मन्त्रालयबाट आएको छानबिन समितिले विभिन्न सरोकारवालाहरुसँग चितवनमा परामर्श गरिरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ टोलीले चितवनमा आएर काम सुरु गरेको तीन दिन भइसकेको छ । अब छिट्टै प्रतिवेदन बाहिर आउँछ । चितवन आउनु अगाडि पनि मन्त्रालयले यस घटनाको बारेमा विश्लेषण गरिरहेको थियो ।’ उनले अनुसन्धानको काम चलिरहेकोले सबै कुरा भन्न नमिल्ने बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेटेको छ । त्यस्तै मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, सडक डिभिजन कार्यालय, निर्माण कम्पनीका कर्मचारीसँग पनि छलफल गरेको छ ।

वनदेवी मध्यवर्ती सामुदायिक वनभित्र फराकिलो क्षेत्रमा घाँसेमैदानमा छानबिन समितिले आफ्नो अध्ययनलाई केन्द्रित गरेको छ । त्यस ठाउँमा भेटिएको रगतको टाटा र गैँडाको पाइलाको आधारमा गैँडा जुध्दा भागेर सो ठाउँमा पुगेको भन्ने प्रारम्भिक निष्कर्ष निस्केको छ । यो स्थान गैँडा मरेको घटनास्थलबाट एक किलोमिटर दक्षिणमा पर्छ । गैँडा मरेपछि टोलीले गैँडा मर्नुको कारणको खोजेको छ । घटनास्थलमा पुगेर घटनाबारे जानकारी पनि लिएको छ ।

भरतपुर महानगरपालिका– ९ स्थित गोन्द्राङमा सडकमा बनाइएको नालीको छेउको खाडलमा परेर गत आइतबार अन्दाजी १२ वर्षको भाले गैँडा मरेको थियो । टोलीको प्ररम्भिक निष्कर्षमा दुईवटा भाले गैँडा जुधेको जस्तो देखिएको छ । जुधेको स्थान एक किलोमिटरसम्म छ । यो हेर्दा टाढाबाट लखेटिएर भागेको हुनसक्ने प्रारम्भिक निष्कर्ष छ । बयष्क भएपछि र पोथीसँग संसर्गको बेला गैँडा आपसमा जुध्ने गर्छन् । कहिलेकाहीँ सहवासमा पोथीले इन्कार गरेको अवस्थामा पनि भालेले पोथीलाई लखेट्छ ।

छानबिन समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल छन् । छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउने गरी काम गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जले पनि यस विषयमा छुट्टै अनुसन्धान अनुसन्धान अगाडि बढाएको छ । सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खाल्डोमा परेर गैँडा मरेपछि निकुञ्जले निर्माण कम्पनी इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरे पनि उनी भने पक्राउ परेका छैनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>