Breaking News

मालवाहक सवारी साधनलाई मुग्लिङ–नागढुंगा सडकमा अब छुट्टै लेन

Banner

चितवन, माघ १३–

संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख मार्ग हो मुग्लिङ–नागढुंगा सडक खण्ड । यस क्षेत्रमा मालवाहक सवारी साधन जहिल्यै बिग्रिदा अन्य सवारी साधन घण्टौं जाममा बस्न बाध्य बन्ने गरेका छ । यही समस्यालाई मध्यनजर गर्दै अबदेखि मालवाहक सवारीसाधनका लागि फरक लेनको व्यवस्था गरिने भएको छ ।

विस्तारको क्रममा रहेको यो सडकअन्तर्गत उकालो क्षेत्रमा गुड्न मालवाहक सवारीलाई सहजता र ट्राफिक व्यवस्थापनका लागि ‘क्लाइम्बिङ लेन’ बनाउन लागिएको नागढुंगा–मुग्लिङ सडक विस्तार आयोजनाका प्रमुख इन्जिनियर किरण कार्कीले जानकारी दिए । उनले भने–‘ यो सडक विस्तार गर्नुको प्रमुख उद्देश्य मालवाहक सवारीसाधनको आवागमनमा सहजता ल्याउनु हो । त्यसैले क्लाइम्बिङ लेन राख्न थालेका हौं ।’

यो लेन बनेपछि मालवाहक सवारीलाई अन्य सवारीले पछ्याइरहनुपर्ने र कुनै सवारी बिग्रिएर घण्टौं जाममा बस्नुपर्ने अवस्था रहने छैन । चितवनको मुग्लिङदेखि काठमाडौंको नागढुंगासम्मको सडकको लम्बाइ ९४.८० किलोमिटर छ । यो खण्डमा पृथ्वी राजमार्गको ८२.४० किमि र त्रिभुवन राजपथको १२।४० किमि सडक पर्छ । यो सडकलाई तीन खण्ड बनाएर विस्तार भइरहेको छ । जसमा नागढुंगा–नौबिसे (१२.२६ किमि), नौबिसे–मलेखु (४३.५४२ किमि) र मलेखु–मुग्लिङ (३८.८६१ किमि) पर्छन् ।

मुग्लिङ–नागढुंगा खण्डमा ३७.७५७ किमि सडकमा क्लाइम्बिङ लेन रहने आयोजना प्रमुख कार्की बताउँछन् । मुग्लिङ–नागढुंगा सडक हुँदै दैनिक १२ हजारभन्दा धेरै साना–ठूला सवारीसाधन काठमाडौं छिर्ने गर्छन् । मुस्किलले दुई लेनको मात्रै रहेको यो सडक सवारी चाप, पहिरो र सडक नै पुरानो भएका कारण अवस्था जीर्ण छ । मोडहरू फराकिला छैनन् । उकालोमा मालवाहक गाडी पछ्याउँदा अन्य गाडीको लामै लाम लाग्छ ।

मुलुककै लाइफलाइनका रूपमा रहेको सडकको दुरवस्था सुधार गर्न आयोजनाले काम सुरु गरेको हो । यो सडकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप २ लेन, बजार क्षेत्रमा ४ लेन र उकालोमा क्लाइम्बिङ लेनसमेत बनाउने गरी विस्तार गर्न लागिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए ।

कान्तिपुरबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>