Breaking News
चितवनमा आजदेखि बुस्टर डोज खोप लगाइँदै, यी हुन् खोप लगाउने स्थान (सूचीसहित)

चितवन, माघ ३–
कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप आजदेखि चितवनमा पनि लगाउन सुरु गरिदैछ । त्यसका लागि स्थानीय तहरुले छुट्टाछुट्टै सूचना जारी गरेर बुस्टर जोड लगाउनका लागि आह्वान गरेका छन् । आज (सोमबार) भरतपुर महानगरपालिका र कालिका नगरपालिका क्षेत्रमा बुस्टर डोज खोप लगाइँदैछ ।
भरतपुर महानगरपालिकामा आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी र कारागार कार्यालयका कर्मचारी तथा कैदीबन्दीहरुलाई बुस्टर डोज लगाइएको थियो । आज (सोमबार) भरतपुर महानगरपालिकामा आज निजी अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स तथा शव बाहन चालकलाई बुस्टर डोज खोप लगाइँदै छ । उनीहरुका लागि स्वास्थ्य कार्यालय नजिक रहेको मातृ शिशु क्लिनिकमा खोप लगाउन स्थान तोकिएको छ ।
यस्तै आज नै महानगरपालिका अन्तरगतका स्वास्थ्यकर्मी, कर्मचारी, सफाईकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरुलाई पनि बुस्टर डोज लगाइँदै छ । उनीहरुका लागि स्वास्थ्य कार्यालय परिसरमा रहेको जिल्ला प्रेषण क्लिनिकमा स्थान तोकिएको महानगरका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारीले जानकारी दिएका छन् ।
यसैगरि पूर्वी चितवनको कालिका नगरपालिकामा पनि आजदेखि नै बुस्टर डोज खोप लगाइँदै छ । आज र भोलि गरि दुई दिन खोप लगाउने व्यवस्था मिलाईएको छ । कालिका नगर अस्पताल खोलेसिमल र शक्तिखोर स्वास्थ्य चौकीमा विहान १०ः३० देखि दिउँसो ३ बजेसम्म खोप लगाउने व्यवस्था मिलाईएको प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले जानकारी दिए ।
त्यसैगरि पूर्वी चितवनको रत्ननगर नगरपालिकामा भोलि (मगलबार) र ५ गते गरि दुई दिन रेडक्रस भवनमा बुस्टर डोज लगाउन स्थान तय गरिएको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए ।
त्यस्तै खैरहनी नगरपालिकामा पनि भोलि मात्रै बुस्टर डोज लगाइँदै छ । चैनपुर स्वास्थ्य चौकी, खैरहनी प्राविधिक स्वास्थ्य केन्द्रक, कठार स्वास्थ्य चौकी र कुमरोज स्वास्थ्य चौकी गरि चार स्थानमा एकैदिन बुस्टर डोज खोप लगाईने प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले जानकारी दिए । त्यस्तै इच्छाकामना गाउँपालिकामा भोलि ४ गते दारेचोक स्वास्थ्य चौकी र ट्रमा सेन्टरमा बुस्टर डोज खोप लगाइने निमित्त प्रमुख प्रशासकीयक अधिकृत आनन्दराज घिमिरेले जानकारी दिए ।
चितवनमा पछिल्लो एक साता यता कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतबार दिउँसोसम्ममा संक्रिय संक्रमितको संख्या ६४४ पुगेको छ । १३ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।





























