चितवन विशेष
१९ बुँदे माग राख्दै सप्तगण्डकी क्याम्पस प्रशासनलाई अनेरास्ववियुको २४ घण्टे अल्टिमेटम

चितवन, माघ २-
एमाले निकट अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस एकाईले आज १९ बुँदे माग राख्दै क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
एकाइ अध्यक्ष महेश सापकोटाको नेतृत्वमा गएको अनेरास्ववियुको प्रतिनिधिमण्डलले क्याम्पस प्रमुख मणिराज महतोलाई मागपत्रसहित सो अल्टिमेटम दिएका हुन् । मागपत्रमा २४ घण्टाभित्र विद्यार्थीको मागलाई सम्बोधन गर्न नसके क्याम्पस प्रशासनमा तालाबन्दी गर्ने जनाइएको छ ।
अनेरास्ववियुले २०७५ सालदेखि अहिलेसम्मको छात्रवृत्तिको नामाबली प्रकाशन गर्नुपर्ने, विद्यार्थीसँग लिइएको स्ववियु र रेडक्रस शुल्क सार्वजनिक गर्नुपर्ने, क्याम्पस सञ्चालन विद्यान विपरित सहायक क्याम्पस प्रमुखको नियुक्ति सच्याउनुपर्ने, क्याम्पसको सबै कक्षाकोठामा सीसी क्यामरा जडान गर्नुपर्ने र क्याम्पस वरिपरी सटरहरु तथा पार्किङ निर्माण गरी क्याम्पसको आम्दानी बढाउनुपर्नेलगायतका मागहरु विज्ञप्तिमा उल्लेख गरेको छ । अनेरास्ववियुले क्याम्पस प्रशासनलाई बुझाएको विज्ञप्तिमा क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका लागि प्राध्यापकहरुले नियमित पढाउनुपर्ने, क्याम्पसको हिसाबकिताब सार्वजनिक गरिनुपर्ने, त्रिभुवन विश्वविद्यालयले परीक्षा सञ्चालनको लागि दिनुपर्ने रकम पारदर्शी हुनुपर्नेलगायत रहेका छन् । विभिन्न विद्यार्थी संगठनहरुले विभिन्न व्यक्तिगत स्वार्थ र फाइदाको लागि क्याम्पसमा गरिने तोडफोड र तालाबन्दीको पनि अनेरास्ववियुले विज्ञप्तिमा विरोध गरेको छ ।


























