Breaking News
चितवनमा बढ्यो तरुल र सखरखण्डको व्यापार, भारतीय उत्पादनमा निर्भरता बढ्दै
चितवन, पुस २९-
माघे संक्रान्ति नजिकिएसँगै चितवनको बजारमा तरुल, सखरखण्डको व्यापार बढेको छ ।
माघे संक्रान्ति विशेषगरी तरुल र चाकुको चाड हो । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ ।
संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन् । आउँदो शनिबार माघेसंक्रान्ति पर्छ । त्यसैले तरुल, सखरखण्ड किन्नेको चहलपहल सुरु भएको छ । व्यापारीहरु ठेलामा सखरखण्ड र तरुल राखेर घरघरमा बिक्री गर्दै हिड्न थालेका छन् ।
क्षेत्रपुर तरकारी ठोक बजारका व्यवसायी रामराजा पाण्डेका अनुसार तरुल प्रतिकेजी न्यूनतम ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म बिक्री भएको छ भने सखरखण्ड प्रतिकेजी न्यूनतम ३५ रुपैयाँदेखि ४५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ । दाङ र सुर्खेतबाट आउने वनतरुलको मूल्य भने चितवनमा केजीको १२० रुपैयाँ रहेको छ । तरुल र सखरखण्ड केही मात्रामा धादिङको उत्पादन आउने भए पनि अधिकांश सखरखण्ड व्यापार भारतीय उत्पादनमा नै निर्भर रहेको छ । सर्लाही जिल्लाबाट तरुल भने पर्याप्तरुपमा आउने गरेको व्यवसायीहरु बताउँछन् ।
























