Breaking News
चितवन महोत्सव भोलि समापन, स्टल राखेकालाई ५० प्रतिशत रकम फिर्ता गरिने

चितवन, पुस २७–
चितवन महोत्सव–२०७८ भोलि (बुधबार) समापन गरिदैछ । जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार कोभिड संक्रमणका कारण महोत्सव चार दिन अगावै समापन गर्न लागिएको हो ।
यससंगै आयोजक उद्योग वाणिज्य संघ–चितवनले महोत्सवमा स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ ।
चितवन महोत्सव मूल आयोजक समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना महामारीको संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले मेला महोत्सव रोक्न निर्देश गरेसंगै मंगलबार उद्योग बाणिज्य संघ चितवनले बैठकबाट यस्तो निर्णय गरेको मूल आयोजक समिति संयोजक राजु श्रेष्ठले बताए । महोत्सवको समयावधी अगावै महोत्सव समापन गनुपर्ने अवस्था रहेकाले स्टल व्यवस्थापन खर्च कटाएर रकम फिर्ता गर्ने निर्णय गरिएको उनले बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङको नेतृत्वमा सोमबारे जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र र सर्वदलीय सर्वपक्षीय बैठकले जारी व्यवस्थापन समय सहित चितवन महोत्सव दुईदिन चल्न दिने र अरु महोत्सव रोक्ने निर्णय गरेको थियो । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा चितवन महोत्सव आइतबारदेखि नारायणी नदी किनारमा सुरु भएको हो । महोत्सव माघ ४ गते सम्म चल्ने तय भएको थियो ।
























