Breaking News
चितवनमा कोरोनाको तेस्रो लहर फैलन सक्ने भन्दै भरतपुर अस्पतालले थाल्यो विशेष तयारी

चितवन, पुस २६-
शून्यमा झरेको चितवनको कोरोना संक्रमण विगत २४ घण्टामा एकएक बढेपछि भरतपुर अस्पतालले तेस्रो लहरको सम्भावना आउन सक्ने आकलन गरेको छ ।
सोही सम्भावना र जोखिमलाई दृष्टिगत गरी भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा कृष्णप्रसाद पौडेलको अध्यक्षतामा आज विशेष बैठक बसेको हो ।
बैठकमा अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलसहित अस्पतालका बरिष्ठ फिजिसियनहरुको सहभागिता थियो। चितवनबाट राष्ट्रिय प्रयोगशालामा पठाइएका नमुनाहरु मध्ये कुनैमा पनि आजसम्म ओमिक्रोन भेरियन्टको पुष्टि भएको छैन । तर, एकाएक आज एकैदिनमा ४१ जनामा कोरोना संक्रमण देखिएपछि अस्पतालमा रोकथाम कसरी गर्ने भन्ने रणनीति बनाउन विशेष बैठक बसेको हो ।
भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा पौडेलले चितवनमा एकएक बढेको संक्रमणले फेरि तेस्रो लहर आउने जोखिम बढेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ कोरोनाको सम्भावित जोखिमलाई नियन्त्रण गर्नको लागि आज अस्पतालमा विशेष बैठक बस्यो । कोरोना संक्रमितको संख्या घटेसँगै घटाइएको बेड संख्यालाई फेरि बढाउने बैठकले निर्णय गरेको छ । ’ अस्पतालमा २०० वटा कोरोनाा विशेष बेड छुट्याइएकोमा अहिले सबै हटाएर अन्य बिरामी राख्ने गरिएको थियो । अस्पतालमा तत्कालका लागि कोरोनाको ५० बेड छुट्याउने आजको बैठकले निर्णय गरेको डा पौडेलले जानकारी दिए । डा पौडेलले भने, ‘बैठकले पीसीआर परीक्षणको लागि प्रयोगशालाको क्षमता बढाउने, जनशक्तिको प्रभावकारी व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।’ उनले चितवनमा बढ्दै गएको मानिसहरुको आवतजावतले गर्दा पनि कोरोना अचानक फैलिएको बताए । उनले भने, ‘मानिसको आवतजावत बढी र सर्तकतामा कमी भएकोले नै चितवनमा कोरोना संक्रमण बढेको हो । भीडभाड हुन नदिन विशेष सतर्कता अपनाउनुपर्छ ।’
























