अर्थ

म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढ्यो

Banner

म्याग्दी, पुस २२-

म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो ।

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादन भएको ८० प्रतिशत सुन्तला बिक्री बजारमा पठाइएको छ ।” गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको पाण्डेले बताउनुभयो ।

कृषकले बिक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रु १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । कृषकले प्रतिकिलो रु ५० देखि रु ८० का दरले सुन्तला बिक्री गरेका छन् । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला अत्यधिक उत्पादन हुन्छ ।

म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल, काठमाडौँलगायत ठाउँमा बिक्री हुँदैआएको छ । व्यापारीले बगैँचामै आएर सुन्तला खरिद गर्ने गरेको बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताउनुभयो । राखुमा रु एक करोड ५० लाख बराबरको सुन्तला बिक्री भएको छ । औसा परेर झर्ने समस्या नियन्त्रणका लागि कृषकलाई तालिम प्रदान गरिएको छ । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राविधिक जुटेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>