Breaking News
एमाले चितवनको अध्यक्षमा कसको सम्भावना कति ? पुस्तान्तरण कि पुरानाकै निरन्तरता

चितवन, पुस २१–
एमाले चितवनको १० औं जिल्ला सुरु हुन अब एक दिनमात्र बाँकी रहँदा पार्टी नेतृत्वको लागि सरगर्मी बढेको छ ।
एमाले जिल्ला कमिटीले पुस २३ र २४ गते अधिवेशनको मिति तोकेको छ । पार्टीभित्र र बाहिर एमाले चितवनको नेतृत्व कसले गर्ला भनेर विभिन्न अनुमानहरु सुरु भएका छन् । नेताहरु एकपक्षीय र बहुपक्षीय छलफलमा जुटेका छन् । १० औं महाधिवेशनमा चितवन जिल्ला अध्यक्ष बन्नका लागि एमाले नेताहरु रामप्रसाद न्यौपाने, तेजेन्द्र खड्का, कृष्ण भुर्तेल र कमल पाठकले आकांक्षा देखाएका छन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेको समूह भने पार्टीभित्र निर्वाचन होइन सहमतिमा नै निर्वाचन हुने कुरामा जोड दिइरहेको छ । केन्द्रदेखि नै एकता महाधिवेशन भनिएको यसपटकको १० औं महाधिवेशनमा नेतृत्व छान्नको लागि प्यानलनै बनाएर निर्वाचनमा जान पनि त्यती सहज देखिँदैन । विभिन्न चुनौती र अप्ठ्याराहरुबीच पार्टी अध्यक्ष बन्नको लागि कसको सम्भावना कति भनेर आआफ्नै व्याख्या र अनुमानहरु सतहमा आएका छन् । यसपटकको अधिवेशनमा निर्वाचन नहुने र अधिकतम् सर्वसम्मतीको प्रयास गरिने जिल्ला नेताहरुले बताउँदै आएका छन् । पार्टीको उद्घाटन शत्र भरतपुरको तारापुञ्ज रिसोर्टमा र बन्द शत्र पार्टी कार्यालयमा हुनेछ ।
कसको सम्भावना कति ?
एमालेका युवा नेता रामप्रसाद न्यौपाने एमाले अध्यक्षका बलियो दाबेदार हुन् । माडीको कल्याणपुर क्षेत्रबाट आफ्नो राजनीतिक पृष्ठभूमि बनाउँदै अगाडि बढेका न्यौपाने २०४५ सालदेखि अनेरास्ववियुको राजनीतिमा सक्रिय भए । विसं २०५३ मा अनेरास्ववियुको जिल्ला सचिव बन्दै २०५५ र २०५७ मा अनेरास्ववियु चितवनको अध्यक्ष बने । २०५१ सालदेखि उनी एमाले पार्टीमा पूर्णकालिन कार्यकर्ताको रुपमा काम सुरु गरे । एमाले र माओवादीबीचको एकतापछि उनी भरतपुर महानगरको नेकपा अध्यक्ष पनि बने । त्यसपछि झन् चितवनको राजनीतिमा उनको चर्चा र लोकप्रियता बढ्यो । महानगरको अध्यक्षको नेतृत्व सम्हालिसकेको नाताले पनि न्यौपानेको सम्भावना अन्य आकांक्षीको भन्दा बढी रहेको धेरैको अनुमान छ । यद्यपी महानगरको नेतृत्व गर्दा द्रुत रुपमा काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । उनले पार्टीमा पुस्तान्तरण,संगठन निर्माण, गतिशिलतासंगै पुराना र अग्रज नेताहरुको व्यवस्थापनलाई मुख्य एजेण्डा बनाएका छन् ।
न्यौपाने सुरुवातदेखि नै अध्यक्ष ओलीको समूहमा नै सक्रिय रहेर अगाडि बढेका नेता हुन् । एकता अधिवेशन नै भए पनि अध्यक्ष ओलीसँग न्यौपानेको प्रत्यक्ष सम्वाद र सम्पर्क रहेकोले पनि उनको नाम अग्रपंक्तिमा आउने सम्भावना देखिन्छ । हिजोदेखि ओलीसमूहमा लागेका युवा विद्यार्थीहरुले न्यौपाने अध्यक्षमा आउनुपर्ने चाहना व्यक्त गरेका छन् ।
युवा पुस्ताको लागि क्षमतावान् र सालिन नेताको रुपमा धेरैले उनको चर्चा गरेका छन् । पुरानो पुस्ता र नयाँ पुस्तालाई समन्वय गरेर अगाडि बढ्न सक्ने क्षमता उनीमा रहेको उनीसँगै काम गरेका नेताहरुको तर्क छ । उनले असजिलो परिस्थितिमा नेतृत्व लिएर अहिले महानगर अध्यक्ष पद छाड्नुको कारण पनि जिल्लामा जानको लागि पूर्वतयारीको रुपमा हेर्न सकिन्छ । अहिले जिल्ला अधिवेशनका लागि छनोट भएका अधिकांस प्रतिनिधि न्यौपानको पक्षमा रहेको दाबी गरिएको छ ।
तेजेन्द्र खड्का
तेजेन्द्र खड्का २०७३ साल भदौंमा भएको जिल्ला कमिटीको नवौं महाधिवेशनमा एमालेको उपाध्यक्षमा निर्वाचित व्यक्तित्व हुन् । उनी २०४२ सालदेखि चितवनमा पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएकाले पनि उनको अध्यक्षको दाबीलाई नकार्न सकिँदैन । विशेष त भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै जनसंख्या भएको वडा नम्बर ११ र १२ मा पार्टी संगठन बलियो बनाउनमा उनको महत्वपूर्ण योगदान रहेको छ ।
२०४७ सालमा भरतपुर नगर कमिटी सचिव बनेका खड्का क्षेत्रीय इन्चार्ज जिल्ला सचिव, जिल्ला उपाध्यक्ष बनिसकेका व्यक्तित्व हुन् । तर, उनी माधव नेपाल नेतृत्वको नेकपा समाजवादी निर्वाचन आयोगमा दर्ता भए लगत्तै समाजवादीमा केही समयसम्म सक्रिय नै रहे । असजिलो परिस्थितिमा एमाले चितवनको नेतृत्व सम्हाल्ने उनले हिम्मत गर्न सकेनन् । उनले आफ्नै ढंगबाट समाजवादीको संगठन निर्माणमा केही समय सक्रियता देखाएर पछि एमालेमा नै फर्किए । सोही कारणबाट उनीप्रति एमाले कार्यकर्ताको विश्वासमा केही घट्न गयो । एमाले प्रदेश सचिवालय सदस्यमा पनि खड्का रहेकोले भोलि उनलाई पार्टीको जिल्ला अध्यक्ष भन्दा पनि जनप्रतिनिधिको रुपमा भूमिका दिँदा उपयुक्त हुने कतिपयको अभिमत छ । पार्टी संगठनलाई बलियो बनाइराख्न खड्काको साथ र समर्थन भने सधै आवश्यकता पर्ने देखिन्छ । अघिल्लो पुस्ताको नेतृत्व गर्ने भएकोले पनि एमाले चितवनमा पुस्तान्तरणको बहस सुरु भएको छ । पार्टीमा पुस्तान्तरण हुने नै हो भने खड्का भन्दा पनि अन्य युवा नेताहरु नै नेतृत्वको रोजाइमा पर्ने सम्भावना छ । खड्काले पार्टी असजिलो परिस्थितिमा पर्दा उपाध्यक्षको नाताले नेतृत्व सम्हाल्न नसकेको देखिन्छ । नेतृत्व पार्वती रावलको काँधमा जानु भनेकै खड्काको क्षमतामाथि केही न केही प्रश्न चिन्ह लाग्नु नै हो । यधपि पार्टी एकीकरणलाई मजबुत बनाउनका लागि खड्कालाई नै पार्टीको नेतृत्व प्रदान गर्नुपर्ने कतिपय नेता कार्यकर्ताको तर्क छ ।
कृष्णप्रसाद भुर्तेल
त्यस्तै अर्का आकांक्षी कृष्णप्रसाद भुर्तेल चितवनको मेघौली क्षेत्रबाट राजनीतिमा उदाएका व्यक्तित्व हुन् । वाग्मती प्रदेशका जननिर्वाचित सांसद भुर्तेल २०३५ सालदेखि चितवनको कम्युनिस्ट राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी २०३७ सालको जनमत संग्रहताकाबाट त पार्टीमा संगठित सदस्य नै भएर लागे । २०४२ सालको विद्यार्थी राजनीतिमा सक्रिय भएका भुर्तेल २०५४ सालमा साबिक मेघौली गाविसका अध्यक्ष भएपछि उनको चर्चा चुलिएको थियो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष, एमालेको क्षेत्रीय कमिटी सदस्य हुँदै २०५४ सालमा एमालेको जिल्ला कमिटी सदस्य बने ।
त्यसैगरी २०६१ सालमा सचिवालय सदस्य र २०७७ सालमा प्रदेश कमिटी सदस्य बनेका भुर्तेल एमाले राजनीतिमा निकै शालिन नेताको रुपमा आफ्नो छबि बनाएका छन् । अहिले नै प्रदेश सांसद र प्रदेश कमिटीको सदस्य भएकोले पनि भुर्तेलको लागि जिल्ला भन्दा पनि प्रदेश नै उपयुक्त हुने कतिपयको दाबी छ । पार्टीको सच्चा पहरेदार बन्दै आएका शालिन नेताको रुपमा भुर्तेललाई लिइए पनि उनको नेतृत्व खुबीको भने परीक्षण भएको देखिँदैन । उनको लचकता र शालिनता भोलि चितवनमा माओवादी र कांग्रेससँग जुध्नको लागि सक्षम नहुने कतिपयको आकलन छ । प्रतिस्पध्रीसँग भीड्नको लागि भुर्तेलको गुणले पनि नदिने उनीसँगै राजनीति गरेका समकालिनहरु बताउँछन् । जिल्लामा पुस्तान्तरणको सवाल चर्काेरुपमा उठेकोले पनि उनको सम्भावना कम रहेको धेरैको आकलन छ । भुर्तेल नेकपा विभाजन हुँदा प्रचण्ड माधवले नेतृत्व गरेको एमाले विरोधी सभामा भाग लिन काठमाडौँ गएका कारण एमाले वृत्तमा उनको अझै पनि विरोध हुने गरेको छ । पार्टीमा निरन्तर क्रियाशिल र योगदानकै आधारमा भुर्तेललाई जिल्ला कमिटी अध्यक्षको भूमिका दिनुपर्नेमा कतिपय नेताहरुको जोड छ ।
कमल पाठक
त्यसैगरी एमाले चितवनको जिल्ला नेतृत्वका अर्का आकांक्षी पूर्वी चितवनको खैरहनी नगरपालिकाबाट राजनीतिमा उदाएका नेता कमल पाठक पनि छन् । २०४३ सालबाट अनेरास्ववियु राजनीति सुरु गरेका पाठक नेपाल ल क्याम्पसबाट विद्यार्थी राजनीति गर्दै २०५३ सालदेखि २०६३ सालसम्म पूर्व चितवनको चैनपुर गाविसको नेतृत्व सम्हाले । उनी २०५४ सालमा युवा संघ जिल्ला कमिटी उपाध्यक्ष र २०६१ सालमा युवा संघ चितवन अध्यक्ष बने । विद्यार्थी, युवा राजनीतिक पृष्ठभूमिबाट अगाडि बढ्दै २०६३ सालदेखि निरन्तर एमाले जिल्ला कमिटीमा सक्रिय छन् । पेसाले कानुन व्यवसायी रहेका पाठक २०७४ सालमा बार एशोसिएसन चितवनका अध्यक्ष बने ।
जिल्ला कमिटीमा लामोसमय रहेकोले नै उनको अध्यक्षमा चर्चा चुलिएको हो । पाठक लामो समय युवासंघको राजनीति गरेका कारण युवाहरुमा लोकप्रिय छन् । यसै कारण जिल्लामा उनको नेतृत्व आउनुपर्ने कतिपय नेता कार्यकर्ताको दावी छ । पाठक सुरुवातदेखि नै अध्यक्ष ओलीको समूहमा नै सक्रिय रहेर अगाडि बढेका नेता हुन् । एकता अधिवेशन नै भए पनि अध्यक्ष ओलीसँग न्यौपानेको प्रत्यक्ष सम्वाद र सम्पर्क रहेकोले पनि उनको नाम अध्यक्षका लागि अग्रपंतिमा आउने गरेको हो । उनी पूर्णकालिनरुपमा राजनीतिमा नलागी व्यवसायिक हिसाबले राजनीतिमा अगाडि आएका व्यक्ति भएको आरोप लाग्ने गरेको छ । एमाले चितवनमा उपाध्यक्ष बनेर अध्यक्षको लागि न्यौपानेलाई नै सहयोग गर्नुपर्ने कतिपय नेता कार्यकर्ताले बताउँदै आएका छन् ।
यसअघि एमाले चितवनमा विष्णु घिमिरे, केदार न्यौपाने, युवराज कार्की, नरबहादुर खाँड, डम्बर श्रेष्ठ, हरि सापकोटा, देवी ज्ञवाली, विजय सुवेदी, कृष्णप्रसाद खनाल, जेएन थपलिया, कृष्णभक्त पोखरेल र पार्वती रावलले नेतृत्व गरिसकेका छन् । पार्टीको नयाँ नेता को भन्ने भन्ने विषय तिनै पूर्वअध्यक्षको भूमिका पनि निर्णायक हुने देखिन्छ । पूर्वअध्यक्ष खनाल भने एकीकृत समाजवादीतिर लागेका छन् । एमाले चितवनको १० औं जिल्ला अधिवेशनको लागि विभिन्न स्थानीय तह र पेसागत संगठनहरुबाट एक हजार ६०० प्रतिनिधिहरु छानिएका छन् ।
























