चितवन विशेष

चितवनमा बीस हजार नयाँ मतदाता थपिए

Banner

चितवन,पुस २०-

जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानका क्रममा २० हजार ६०३ जनाले मतदाना नामावलीमा नाम दर्ता गरेका छन् ।

कार्यालय प्रमुख भिमसेन कार्कीका अनुसार गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत १० हजार २५० महिला र १० हजार ३५३ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । अभियानअन्तर्गत राप्ती नगरपालिकामा चार हजार १३०, रत्ननगर नगरपालिकामा दुई हजार २९६ र खैरहनी नगरपालिकामा दुई हजार ५३७ जनाले नाम दर्ता गराएका छन् । यस्तै माडी नगरपालिकामा एक हजार ५५१, कालिका नगरपालिकामा एक हजार ३७७ र इच्छाकामना गाउँपालिकामा ६१४ जनाले नाम दर्ता गराएका छन् ।

अभियानलाई कार्यालयले दुई चरणमा विभाजन गरेको थियो । पहिलो चरणमा माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा तथा दोस्रो चरणमा राप्ती, खैरहनी र रत्ननगर नगरपालिकामा नामावली सङ्कलन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा एक हजार ९३३, जिल्ला निर्वाचन कार्यालयमा चार हजार ४९३ तथा इलाका प्रशासन कार्यालय माडीमा ८६६ जनाले नाम दर्ता गराएको उहाँले जानकारी दिनुभयो । स्थायी बसोबास अन्य जिल्ला भई चितवन आएर मतदाता नामावली सङ्कलन गराउने ८७१ जना छन् । नामावली सङ्कलन अभियान जारी छ । जिल्ला प्रशासन र इलाका प्रशासनमा एक एक तथा निर्वाचन कार्यालयमा पाँचवटा नाम सङ्कलन स्थल राखेर काम भइरहेको छ । अभियान सुरु हुनुअघि जिल्लामा तीन लाख ८० हजार ५५८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

विसं २०७७ पुस ५ गते निर्वाचनको मिति तोक्दा जिल्लामा तीन लाख ६८ हजार ३८२ मतदाता थिए । उनीहरु सबै नामावलीमा नाम दर्ता गराएर १८ वर्ष उमेर कटेका हुन् । विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अभियानका क्रममा नामावली दर्ता गराउन आउने अधिकांश १८ वर्षभन्दा माथिका रहेको कार्कीले बताउनुभयो । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सक्कल नागरिकता, बसाइसराइको प्रमाणपत्र, विवाह दर्तालगायत कागजपत्र अनिर्वाय गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा तीन निर्वाचन क्षेत्र छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>