चितवन विशेष
गंगानगर दुग्ध उत्पादक सहकारीको २८ औं साधारण सभा सम्पन्न

चितवन, पुस १८-
गंगानगर दुग्धउत्पादक सहकारी संस्थाको २८ औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभाको उद्घाटन बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले गरेका हुन् ।
मन्त्री श्रेष्ठले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको बताउँदै गंगानगर दुग्ध सहकारीको प्रशंसा गरेका थिए । उनले गतसालदेखि सञ्चालनमा आएको उक्त सहकारी दूध विविधीकरण गर्ने उद्योगको अवलोकन गर्दै आफ्नो मन्त्रालयले आवश्यक सहयोग गर्ने समेत बताए ।
संस्थाको अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न विद्यामा किसानहरुलाई सम्मान समेत गरिएको थियो । एक लाखभन्दा माथि दूध विक्री गर्ने २९० जना, २ कठ्ठा बढी जमिनमा बुहुवर्षीय घाँस खेती गर्ने किसानहरुलाई प्रोत्सान स्वरुप नगद पुरस्कार, सहकारीमा दूध बिक्री गर्ने दलित किसान, जनजाति किसान, आदिवासी किसान, भूगोलको हिसाबले क्षेत्रगततर्फ दूध बिक्री गर्ने किसान , संस्थाका सदस्य र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
यस्तै सहकारीले उत्पादन गरेका दूध र प्रशोधित दूधजन्य पदार्थ बिक्री गर्ने बिक्री केन्द्रलाई पनि साधारण सभाको अवसरमा उपहार प्रदान गरेको थियो । गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्धप्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको छ । ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीको आफ्नै बिक्री केन्द्र समेत छ ।
सहकारीले आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्र समेत सञ्चालन गरेको छ । सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा दैनिक ६ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्छ । सहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्य बजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री गर्दै आएको छ ।
आफ्नै उद्योगबाट सहकारीले दूधबाट दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाइका उत्पादन गर्दै आएको सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाले बताए । विसं २०४९ सालमा स्थापना भएको यस सहकारीमा अहिले ५०० बढी किसान आबद्ध छन् । सहकारीको धनौजीको प्रधान कार्यालय बाहेक दुई वटा सेवा केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।
























