Breaking News

पुल्चोक–गोन्द्राङ्ग सडक विस्तार : मध्यावधिमा ३० प्रतिशत काम सम्पन्न, म्याद सकिन १३ महिना बाँकी

  • Logo
    app haru
  • १५ पुस २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, पुष १५

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुरको पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारको काम ३० प्रतिशत सकिएको छ । सम्झौता अवधिको मध्यावधिमा ३० प्रतिशत काम सम्पन्न भएको हो ।

निर्माण कम्पनी इण्डो सगुन जेभीका प्रमुख इन्जिनियर सहदेव खड्काले अहिले सडकमा इम्बाकमेन्ट (माटो पुरेर लेभल मिलाउने), सवबेश हाल्ने, आरसिसी ड्रेन बनाउने, विद्युतका पोल सार्ने, विद्युतका तार अण्डरग्राउण्ड गरी बाटो क्रस गर्ने लगायतका काम भइरहेको जानकारी दिए ।

२०७७ साल असोज २६ गते २७ महिनाभित्र सडक विस्तार सम्पन्न गर्ने गरी भएको सम्झौताको म्याद २०७९ माघसम्म रहेको छ । ठेक्का सम्झौता सकिन अब १३ महिनामात्र बाँकी छ ।

खड्काले समयमा नै काम सम्पन्न हुने बताए । आगामि असार मसान्तसम्ममा ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेर धमाधम काम भइरहेको उनको भनाइ छ ।

घरहरु भत्काउने काममा ढिलाइ नभएमा सडक विस्तार समयमै सकिने उनको भनाइ छ । सडक विस्तारका क्रममा २६ वटा घरको अगाडिका भाग भत्काउनु पर्ने देखिएको छ । उक्त घर भत्काउन सडक डिभिजन र महानगरले घरबेटीसँग आग्रह गरिरहेको जनाएको छ । यदि आफै नभत्काएमा डोजर लगाएर भत्काउने योजना बनाइएको खड्काले बताए ।

सडकमा रुख काट्ने काम लगभग सकिएको छ भने पोल सार्ने काम ५० प्रतिशत सकिएको छ । सडक खन्दा फुटेका खानेपानीका पाइप तत्काल फेर्न आफूहरुले नै जिम्मेवारी लिएको हुँदा खानेपानीका पाइपले पनि सडक विस्तारमा कुनै अवरोध नगर्ने उनले बताए ।

‘ठेकेदारले समयमा काम सम्पन्न गर्दैनन् भन्ने मानसिकतालाई चिर्न भए पनि हामी समयमै काम सम्पन्न गर्छाैं’ खड्काले भने ।

सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर बाबुराम सापकोटाले निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्छ भन्नेमा सडक डिभिजन विश्वस्त र ढुक्क रहेको बताए ।
उनले भने, ‘अहिले सडकमा ड्रेन बनिरहेको छ । ड्रेन बनाउँदासम्म भौतिक प्रगती थोरै देखिन्छ । उहाँहरु जब बाटोमा आउनु हुन्छ तब भौतिक प्रगती धेरै देखिन्छ ।’

निर्माण कम्पनी इण्डो सगुनले सडकमा धेरै राम्रो र उच्च गुणस्तरको काम गरिरहेको बताउँदै सापकाटाले आफूहरु निरन्तर अनुगमनमा रहेको बताए ।

विस्तारपछि यस्तो हुनेछ सडक

सडक डिभिजन भरतपुरका अनुसार पुल्चोकदेखि–गोन्द्रङ्गसम्म ६ किलोमिटर रहेको छ । सडकलाई विस्तार गरी ६ लेन स्टाण्डर्ड बनाउन लागिएको हो । सडक विस्तारको लागत १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ तोकिएको छ । संघीय सरकारको बजेटमा सडक विस्तारको काम थालिएको हो ।

टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोक (पारस बसपार्क) सम्म सडक अहिले २ लेन रहेको छ । यस्तै केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । फेरि रिजाल चोकदेखि चौबिसकोठीसम्म २ लेनको छ । यस्तै चौबिसकोठीदेखि नारायणगढको पुल्चोकसम्म ४ लेनको रहेको छ ।

सडक डिभिजनका अनुसार दुई लेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपेर सबै ठाउँमा ६ लेनको बनाउन लागिएको छ । ५० मिटर चौडाइ रहने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिने छ ।

सडकको बीचबाट दायाँबायाँ १० मिटर हाइवेय रोड हुने छ । त्यसपछि सर्भिस रोड हुने छ । त्यसपछि पिच बाहिर फुटपाथ रहने छ । बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ ।

बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक रहने छ । पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइनमा बनाइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>