चितवन विशेष
तमू प्ये ल्हु संघ चितवनले ‘तमू ल्होसार’ मनाउने

चितवन, पुस १०–
गुरुङहरुको धार्मिक सामाजिक संस्था तमू प्ये ल्हु संघ चितवनले भव्य रुपमा ‘तमू ल्होसार’ मनाउने भएको छ । संघले आज (शनिबार) भरतपुरमा पत्रकार सम्मेलन गरि पुस १२ गते भव्य रुपमा ‘तमू ल्होसार’ मनाउन लागेको जानकारी दिएको हो ।
भरतपुर–११, स्थित नौरङ्गेमा ल्होसार मनाउन लागिएको हो । यसपटकको ल्होसारमा सधैं जस्तै शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रमसहित मनाउने तयारी भइरहेको संघका अध्यक्ष लालप्रसाद गुरुङले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल आउने भएका छन् ।
ल्होसार कार्यक्रममा कोरोना महामारीको प्रभावलाई समेत मध्यनजर गर्दै स्वास्थ्य मापदण्डलाई पालना गर्दै ल्होसार मनाउने तयारी गरिएको संघका सचिव नारायण गुरुङले बताए । पर्व मनाउने केही कम देखिएपछि यो वर्ष टुडिखेलमा ल्होसार पर्व मनाउने तयारी गरिरहेको तमू ल्होसार मूलआयोजक समितिले सुरक्षाका उपायसहित मनाइने जनाएको छ । ‘कोरोना भाइरसको प्रभाव अझै कम नभइसकेको र पछिल्लो समय भर्खरै पनि नयाँ भेरियन्ट देखिएकोले त्यसप्रति सचेत रहँदै हामी हाम्रो ठूलो पर्व ल्होसार मनाउछौ’–उनले भने ।
संघले चितवनका गुरुङ समुदायलाई संगठित गर्दै हरेक वर्ष तमू ल्होसार मनाउदै आईरहेको छ । ल्होसारमा हरेक वर्ष पुष १५ मा ल्हो फेरिने अर्थात् नयाँ वर्ष सुरु हुने विश्वासका साथ गुरुङ समुदायले प्रकृति र आफ्नो पितृको पूजागर्ने, ठूला बडाबाट आर्शिवाद लिने गर्दछन् ।
पत्रकार सम्मेलनमा संस्थाका निवर्तमान अध्यक्ष जगत बहादुर गुरुङ, निवर्तमान उपाध्यक्ष तुलाराम गुरुङ, वरिष्ठ उपाध्यक्ष शान्ति गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
























