Breaking News
१५ दिनपछि चितवनमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, सात संक्रमित थपिए

चितवन, पुस ८-
झण्डै १५ दिनपछि चितवनमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा भरतपुर अस्पतालमा चितवनका एक जनाको मृत्यु भएको हो । यसअघि मंसिर २३ गते भरतपुर अस्पतालमा नै एकजनाको मृत्यु भएपछि चितवनमा कोरोनाबाट हुने दैनिक मृत्यु सधै शून्यमा नै थियो ।
स्वास्थ्य कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा ६ जना कोरोनाका बिरामीले आईसीयूमा उपचार गराइरहेका छन् । जसमा भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा चार जना रहेका छन् । त्यसैगरी एचडीयूमा पाँच जना छन् भने विभिन्न अस्पतालमा ११ जनाले उपचार गराइरहेका छन् । त्यस्तै चितवनमा कोरोनाका सात संक्रमित थपिएका छन् । जसमा सबै संक्रमित भरतपुर महानगरपालिकाभित्रकै रहेका छन् । अहिले चितवनमा १०२ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९८ जना घरमा र चार जना अस्पतालको आइसोलेसनमा रहेका छन् । आजसम्म चितवनमा कोरोना संक्रमणबाट ४३४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
























