Breaking News
चितवनमा चिसो बढ्यो, भरतपुरको तापक्रम ७ डिग्रीमा झर्यो

चितवन, पुस ५-
चितवनमा निरन्तर चिसो बढ्दै गएको छ ।
भरतपुर विमानस्थलका अनुसार विगत तीन दिनमा चितवनमा चिसो निरन्तर बढ्दै गएको छ । आज दिउँसो भरतपुरको अधिकतम तापक्रम २३ डिग्री सेन्टिग्रेड छ भने आज बिहानको न्यूनतम तापक्रम सात डिग्री सेन्टिग्रेडमा झरेको विमानस्थलले जनाएको छ । बिगत तीन दिनको तथ्यांक हेर्दा शनिबार न्यूनतम तापक्रम १० डिग्री, आइतबार ८ डिग्री हुँदै आज बिहान ७ डिग्रीमा झरेको हो ।
चितवनसहित तराईका क्षेत्रहरुमाबिहानको समयमा हुसु\कुहिरो लाग्नुका साथै चिसो बढ्ने क्रममा रहेको जल तथा मौसम विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवम् सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
त्यसैगरी आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । चितवनसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ । सोमबार बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री पुगेको छ । यस्तै जोमसोम र जिरीको तापक्रम माइनस २.७ डिग्री पुगेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार मुलुकको पहाडी भू–भागमा आंशिक बदली रही बाँकि भू–भागको मौसम सफा रहनेछ।
देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाकएको छ । आज राति देशभरि आंशिक बदली रहने विभागको पूर्वअनुमान रहेको छ ।
























