Breaking News
चितवन बाँदरझुलाका सुकुमबासीद्वारा लालपूर्जा माग्दै काठमाडौँमा प्रदर्शन

चितवन, पुस ४-
लालपूर्जा पाउनुपर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं गएर प्रदर्शन गरेका छन् ।
लामोसमयदेखि लालपूर्जा पाउन नसकेपछि उनीहरु लालपूर्जाको माग गर्दै पुसको ठण्डीमा काठमाडौँ पुगेर प्रदर्शनमा उत्रिएका हुन् ।
लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै गएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले बताए । बाँदरझुला सुकुमबासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा हो, बाँदरझुलालाई न्याय खै ?, लगायत लेखिएको प्लेकार्ड तथा व्यानार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघर मण्डलाबाट बानेश्वरस्थित संसद भवन अगाडिसम्म ¥याली गरेका थिए ।
आफूहरुको माग सम्बोधन नभएसम्म काठमाडौँको माइतीघर मण्डलामा आजैबाट अनिश्चितकालीन रिले अनशन शुरु गर्ने प्रजाले बताए । २०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुमबासी नागरिकहरु बाँदरझुलामा बस्दै आए पनि सरकारले सुकुमबासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै गएर प्रदर्शनमा उत्रिनु परेको उनको भनाइ छ ।
लामो समयदेखि आफूहरुले उपभोग गर्दै आएको जमीनको लालपूर्जा नभएकै कारण चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाहरुबाट आफूहरुले सास्ती भोग्दै आउनु परेको उनको गुनासो छ ।

























