चितवन विशेष

चितवनका सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरोकारवालाहरुको जोड

Banner

चितवन, पुस ३-

सहकारी संस्थाहरुले ऋण प्रवाह गरेर ब्याज खाने परिपाटीको अन्त्य गर्दै उत्पादनमुखी क्षेत्रमा लगानीगर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

भरतपुरमा रहेको जिल्ला सहकारी संघ लिमिटेडको ३५औँ वार्षिक साधारणसभाका वक्ताहरुले सहकारीले अब उत्पादन हुने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले सहकारीको उद्गम जिल्लाको रुपमा रहेको चितवनका सहकारीहरुले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । डल्लाकोटीले गरिबीको रेखामुनी नेपालीहरु रहेका भन्दै सहकारीको माध्यमबाट उनीहरुको आर्थिक अवस्था उकास्न सकिने बताए । तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाको रुपमा सहकारीहरु रहेका भन्दै डल्लाकोटीले सहकारीले कृषि, पर्यटन, शिक्षालगायतको क्षेत्रमा लगानी गर्दै रोजगार उत्पादन गर्नुपर्ने बताए । सहकारीको माध्यमबाट आर्थिक विकासको क्षेत्रमा महत्वपूर्ण काम हुने डल्लाकोटीको भनाइ छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष हरिप्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले व्यवसायिक क्षेत्रमा लगानी गरेको भन्दै पौडेलले भरतपुर १० मा पेट्रोल पम्प सञ्चालन गरेको बताए । पेट्रोल पम्पबाट मात्रै गतवर्ष सहकारी संघले ४० लाख रुपैयाँभन्दा बढी फाइदा गरेको पौडेलको भनाइ छ । त्यसैगरी, संघले तोरी मिल सञ्चालन, घरभाडा सञ्चालन, बचत तथा ऋण व्यवस्थापन व्यवसायलगायतको क्षेत्रमा काम गर्दै आएको छ ।

संघले शेयर पूँजी १० करोड रुपैयाँ पु¥याउने तयारी गरेको पौडेलको भनाइ छ । संघको साधारणसभाका क्रममा केन्द्रीय जडिबुटी सहकारी संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे, वाग्मती प्रदेश सहकारी संघ लिमिटेडका कोषाध्यक्ष टीकाराम भट्टराई, प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका सञ्चालक तेजेन्द्रबहादुर खड्कालगायतले मन्तव्य राखेका थिए । त्यसैगरी जिल्ला सहकारी संघ लिमिटेड चितवनका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भक्तिराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>