देश/प्रदेश

स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे

Banner

खलङ्गा, पुस १-

घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै जुम्लाले ग्रामीण भेगका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्लालाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङख्या बढ्दै गएको हो । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकाले घरमै सुत्केरी गराउने दरमा कमी आएको छ ।

घरमा सुत्केरी गराउँदा रक्तस्राव धेरै हुने, साल फुक्न नसक्नेलगायतका समस्या आउने गरेका थियो । अहिले स्वास्थ्य संस्थामा दक्षस्वास्थ्यकर्मीद्वारा सुत्केरी गराउन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भावस्था र सुत्केरी अवस्थाका बारेमा नागरिक जागरुक बन्दै जानु र सरकारले पनि प्रोत्साहनको व्यवस्थापन गरेकाले यहाँका महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन् ।”

नियमित गर्भजाँच गर्नेदेखि स्वास्थ्यकर्मीको परामर्शका आधारमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भइरहेको उहाँको भनाइ छ । स्थानीयवासीले पनि सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत सुत्केरीयुक्त वडा घोषणा र पोषण सुधारका कार्यक्रम सञ्चालन गरेको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई हजार १२३ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये एक हजार ५१२ जनाले तालिम प्राप्त स्वास्थ्यकर्र्मीबाट सुरक्षित प्रसूति सेवा लिएका हुन् । ६११ जनाले सामान्य रुपमा प्रसूति सेवा लिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा ५३३ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये ३९६ जनाले तालिम प्राप्त स्वास्थ्यकर्र्मीबाट र १३७ जनाले सामान्य रुपमा सुरक्षित प्रसूति सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका सिनियर अनमी मोर्चा शाहीले जानकारी दिनुभयो ।

जिल्लामा २६ बर्थिङ सेन्टर र ३० वटा स्वास्थ्य संस्था रहेका छन् । घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि पछिल्लो स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यमा वृद्धि भइरहेको गुठिचौर गाउँपालिका–३ का अप्पसरा न्यौपानले बताउनुभयो ।

सुरक्षित प्रसूति सेवा केन्द्र, अस्पताल तथा स्वास्थ्य संस्थामै गएर तालिम प्राप्त दक्षजनशक्तिबाट प्रसूति सेवा लिन थालेपछि अहिले मातृ तथा बाल मृत्युदरमा कमि आएको महिला स्वास्थ्य स्वंयसेविका गोरीकला बस्नेतले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>