Breaking News

भरतपुर महानगरलाई बालमैत्री घोषणाको काम अलपत्र, दुई वर्षमा एउटा वडामात्र बन्यो बालमैत्री

Banner

पूजा ढकाल

चितवन, मंसिर २७-

भरतपुर महानगरपालिकाले तीन वर्षभित्रमा महानगरका सबै वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखे पनि अझै सबै वडा बालमैत्री बन्न सकेका छैनन् ।

भरतपुर महानगरपालिकाअन्तर्गत महिला बालबालिका तथा समाजकल्याण शाखाले सडक बालबालिका, बाल श्रममा परेका बालबालिकाको अवस्थालाई सर्वेक्षण गर्दे महानगरका सबै २९ वडालाई बालमैत्री घोषणा गर्ने काम सुरु हो । २०७६ मा नै काम सुरु भए पनि अहिले एउटा वडा भन्दा बढी वडा बालमैत्री घोषणा हुन सकेको छैन । २९ वटा नै वडा बालमैत्री घोषित नभएसम्म भरतपुर महानगरपालिका बालमैत्री महानगर बन्ने सम्भावना रहँदैन । महानगर भन्दा धेरै सानो मानिएको चितवनको रत्ननगर नगरपालिका दुई वर्षअघि नै बालमैत्री नगर घोषणा भइसकेको छ ।

भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहाको अनुसार कुनै पनि बालबालिकाको व्यवहार नियाल्दै उनीहरुको रुचि, स्वास्थ्य शिक्षा तथा बालबालिकासम्बन्धी हरेक क्षेत्रलाई प्रथमिकतामा राखेर काम गर्नु नै बालमैत्री हो । त्यस्तै उपमेयर शाहाको अनुसार महानगरका सबै बालबालिकाको सँगसँगै परिवारको समस्यालाई पनि मध्यनजर गर्दै सबै २९ वटै वडालाई बाल मैत्री बनाउने महानगरको लक्ष्य छ ।

भरतपुर महानगरपालिका सबै वडालाई बालमैत्री महानगर घोषणा गर्न २०७६ को छैठौं नगर परिषद्मै तीन वर्षको लक्ष्य राखेको भए पनि अहिले दुई वर्ष बित्दा एउटा वडा मात्र बालमैत्री घोषणा भएको छ ।

महिला बाल बालबालिका तथा समाजकल्याण शाखाकी महिला विकास अधिकृत सुशिला वाग्लेका अनुसार यसै आर्थिक वर्षमा सबै वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्य भएता पनि कोरोनाले रोकिएकोले काम ढिला भएको बताइन् । उनले अहिले भने काम निरन्तर भइरहेको बताइन् । उनका अनुसार यस आर्थिक वर्षभित्र १४ वटा वडालाई बालमैत्री घोषणा गर्ने र अन्य वडामा अर्को आर्थिक वर्षबाट काम सुरु गरिने छ ।

हाल समाजकल्याण शाखाले बालमैत्री महानगर बनाउन विभिन्न क्षेत्रमा नगर तथा वडा बाल सञ्जालको गठन, बाल विवाह मुक्त वडा निर्माण, क्षमता विकासको लागि तालिमको सञ्चालन र बालबालिकाको समस्याबारे अध्ययन गर्न १४ वटा वडालाई आआफ्नो वडामा सर्वेक्षण खटाउने जिम्मा दिएको महिला विकास अधिकृत वाग्लले बताइन् ।

त्यस्तै महिला बालबालिका तथा समाजकल्याणकी प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेलको अनुसार पछिल्लो समय महानगरले विभिन्न काम गर्ने क्रममा सबैभन्दा पहिले वडा न १४ लाई बालमैत्री घोषणा गरिएको बताइन् । उनले भनिन्, ‘अन्य १३ वटा वडालाई भने बालमैत्री घोषणा गर्न पारम्भिक कार्यहरु समाजकल्याणले गरेको छ ।’

अधिकृत पौडेलले भनिन्, ‘महानगरलाई बालमैत्री वडा घोषणा गर्ने काम एक चुनौतीपूर्ण र नगरी नहुने काम हो । समाजकल्याणले बालमैत्री वडा घोषणा गर्न निर्देशिका जारी गर्दै उक्त निर्देशिका अनुसार ५१ वटा सूचक पूरा गरेको तथा उक्त सूचक पूरा भएको अवस्थामा मात्रै बालमैत्री वडा घोषणा गर्न सकिने छ ।’

त्यस्तै समाजकल्याणले बालबालिकाको पहिचान तथा अधिकारलाई सुनिश्चित गर्न जन्म दर्ता, विद्यालया भर्ना, विद्यालयमा छात्राहरुलाई शौचालयमा पानीको व्यवस्था, पूर्णरुपमा बालबालिकाकोे लागि खोपको प्राप्त गर्न पाउनुपर्ने तथा १४ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु श्रममा नअलमलेको हुनुपर्ने भन्ने प्रावधान छन् ।

त्यस्तै बालबालिकाकौ श्रममा निर्भर भएका परिवारको लागि भने समाजकल्याणले आफ्ने घर भन्दा बाहिर अरुको घरमा नियन्त्रणमा रहेका बालबालिकाहरु कस्तो काममा निर्भर छन् भन्ने कुरालाई विषलेषण गर्ने अधिकृत पौडेलले बताइन् । समाजकल्याण शाखाले विभिन्न सामाजिक हितका कार्यक्रममा बालबालिका, महिला, जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई विषेश प्राथमिकतामा राखेर काम गरेको छ ।

मानव अधिकार संगठन चितवनको पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य बालकृष्ण पौडेलका अनुसार भरतपुर महानगरपालिकाका नारायणी किनार क्षेत्रमा बालबालिकाप्रति परिवारको ध्यान नपुगेको तथा होटलको संख्या उच्च भएकै कारण यस क्षेत्रमा श्रमिक बालबालिकाको संख्या बढी रहेको छ । उनले भने, ‘ खान नपाउने बालबालिकाहरु नदी किनार क्षेत्रमा भौतारिएका हुन्छन् । बजार क्षेत्रमा पारिवारिक विवाद, झगडा र गरिबीका कारणले बालबालिका भौतारिएका हुन्छन् ।’ चितवनका मानवअधिकारवादीहरु महानगरका हरेक घरपरिवारको आर्थिक र सामाजिक अवस्था सुदृढ नबनेसम्म बालबालिकाले घरमा उचित वातावरण पाउन नसक्ने बताउँछन् । घोषणामा मात्र भन्दा पनि व्यवहारिकरुपमा बालमैत्री बनाउन महानगरको ध्यान जानुपर्ने उनीहरुको निष्कर्ष छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>