चितवन विशेष

मानवसेवा आश्रमको भवननिर्माणका लागि महायज्ञ सुरु, पहिलो दिनमै उठ्यो ९६ लाख

Banner

चितवन, मंसिर २६–

सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवामा समर्पित मानवसेवा आश्रम चितवन शाखाको भवननिर्माणका लागि आज (आइतबार)देखि श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सुरु भएको छ ।

भरतपुर–३, बेलचोकमा आश्रमलाई जग्गा प्रदान गर्ने स्व. भगवानदास श्रेष्ठकी श्रीमती कल्याणी श्रेष्ठ, महायज्ञका संयोजक प्रेमकुमार श्रेष्ठ र महायज्ञका प्रमुख वाचक भागवत भाष्कर कमलनयन गौतमले संयुक्त समुद्घाटन गरेका थिए ।

हाल मानवसेवा आश्रमको सेवा भरतपुर महानगरपालिका–१०, बाइपास रोडमा सञ्चालनमा छ । आश्रमको आफ्नै संरचनामा स्थानान्तरण गर्नका लागि भरतपुर –३, बेलचोकमा संरचना निर्माण भइरहेको छ । जग्गा भरतपुर निवासी समाजसेवी स्व. भगवानदास श्रेष्ठको स्मृतीमा श्रीमती कल्याणी श्रेष्ठ र पारिवारले ६ कठ्ठा र उनका ठुलो दाजु प्रेमकुमार श्रेष्ठले २ कठ्ठा गरि ८ कठ्ठा जग्गा सहयोग गरेका हुन् ।

महायज्ञको पहिलो दिन एक कोठा निर्माण अभियान अन्तर्गत १५ वटा कोठाको प्रतिबद्धता मिलेको छ। अभियान अन्तर्गत एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ वा त्यो भन्दा माथिको योगदान गरेपछि कोठाको बाहिर दाताको चाहना अनुसार कोठामा नामाङ्करण गरिने मानवसेवा आश्रमका महासचिव सुशिला के.सी (रुपा) ले जानकारी दिइन् । महायज्ञको समुद्घाटनको दिन ९६ लाख रुपैयाँ जुटेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । यसका लागि १५ कोठा निर्माण गर्न ५ लाख ११ हजार १ सय ११ रुपैयाँ र दुईवटा हल निर्माणका लागि १० लाख ११ हजार १ सय ११ रुपैयाँ जुटेको छ ।

त्यस्तै यस महायज्ञबाट १० करोडको अपेक्षा रहेको यस महायज्ञका संयोजक प्रेमकुमार श्रेष्ठले बताए ।

अहिलेसम्म आश्रमको संरचनाको सम्पूर्ण व्यवस्थापन गरि आवश्यक सामग्री जोडेर गृह प्रवेश गराउनका लागि ५ करोड र आश्रमको नियमित व्यवस्थापनका लागि ५ करोड जुटाउने लक्ष्य रहेको छ ।

आश्रमले पौष ४ गतेसम्म हरेक दिन बिहान ७ः३० बजेदेखि पूजा पाठपारायण र ११ बजेदेखि कथा वाचन हुने जानकारी दिएको छ ।

कार्यक्रममा आश्रमका जग्गादाता समाजसेवी स्व. भगवानदास श्रेष्ठ, र मानवसेवा आश्रमको भवननिर्माणको लागि संयोजकको जिम्मेवारीमा रहँदा नै कोभिडको कारण निधन भएका कृष्ण कुमार श्रेष्ठको फोटोमा माल्यार्पण गरि कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>