Breaking News

चितवनका १६ जना कांग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

Banner

चितवन, मंसिर २६–

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा चितवनका १६ जना चुनावी मैदानमा होमिएका छन् ।

शनिबार उम्मेद्वारी दर्ता गराएका मध्ये एक जनाले फिर्ता लिएपछि १६ जना चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । केन्द्रीय सदस्यमा खुलातर्फ दिनेश कोइराला र प्रा.डा.तीर्थ खनियाँ चुनावी मैदानमा छन् । कोइराला भरतपुर महानगरको मेयरमा टिकट पाए पनि अन्तिम समयमा गठबन्धनमा आवद्ध माओवादी केन्द्रलाई छोड्नु परेको थियो । त्यसपछि भएको प्रदेश निर्वाचनमा कोइराला पराजित भएका थिए । खनियाँ त्रिभुव विश्वविद्यालयका पूर्व उपकुलपति हुन् । खुलामा पुरुषतर्फ ३५ सिटका लागि ९९ जना चुनावी मैदानमा छन् ।

यस्तै खुला महिलातर्फ सावित्री बोगटी पाठक चुनावी मैदानमा छिन् । उनी पूर्व राज्यमन्त्री समेत हुन् । ९ जना महिलाका लागि बोगटीसहित ३० जना चुनावी मैदानमा छन् ।

त्यस्तै दलित महिलातर्फ केन्द्रीय सदस्यमा विष्णुमाया परियार र शान्ति परियार विक चुनावी मैदानमा छन् । आदिवासी महिलातर्फ अञ्जनी श्रेष्ठ र गीता कुमारी गुरुङ चुनावी मैदानमा छिन् । श्रेष्ठ पूर्व सांसद हुन् भने गुरुङ इच्छाकामना गाउँपालिकाकी अध्यक्ष हुन् ।

यस्तै आदिवासी खुला सदस्यमा उमेश श्रेष्ठ, जीतनारायण श्रेष्ठ, टेकप्रसाद गुरुङ र भरत गुरुङ चुनावी मैदानमा होमिएका छन् । भोजपुर घर भए पनि उमेश चितवनबाट संविधान सभाको सदस्य बनेका थिए । शिक्षा व्यवसायी समेत रहेका श्रेष्ठ प्रतिनिधि सभामा समानुपातिक कोटाबाट सांसद बन्दै वर्तमान सरकारमा राज्यमन्त्री भएका छन् । सभापति शेरबहादुर देउवाका निकट मानिने उनी संस्थापन समूहको प्यानलमा पनि परेका छन् ।

जीतनारायण श्रेष्ठ नेपाली कांग्रेस चितवनका सभापति हुन् । टेकप्रसाद गुरूङ कांग्रेस चितवनका पूर्वसभापति हुन् । उनी यसअघि पनि केन्द्रीय सदस्यको उम्मेदवार बनेर पराजित भएका थिए । युवा नेता भरत गुरूङ विद्यार्थी राजनीतिबाट केन्द्रमा पनि चर्चा बटुलेका युवा नेता हुन् । उनी २०४८ सालमा नेविसंघ अमृत साइन्स क्याम्पसको सभापति भएका थिए । उनले नेपाल तरूण दलको विदेश विभाग प्रमुख भएर पनि काम गरेका थिए ।

यस्तै खस आर्य खुलामा रामकृष्ण घिमिरे र प्रकाश अधिकारी चुनावी मैदानमा छन् । घिमिरे नेपाली कांग्रेस चितवनका पूर्वसभापति हुन्। उनी दोस्रो संविधान सभाको उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नबर ४ बाट निर्वाचित भएका थिए ।

पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइराला दुई क्षेत्रबाट निर्वाचित भएपछि चितवनमा भएको उप–निर्वाचनमा घिमिरे विजयी भएका थिए । अधिकारी प्राध्यापक हुन् । अधिकारी नेपाल विद्यार्थी संघ चितवनको पहिलो निर्वाचित अध्यक्ष हुन् । उनी चितवन कांग्रेसको सभापति र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए तर पराजित भए । यसपटक केन्द्रीय सदस्य पदमा उनी संस्थापन समूहको प्यानलमा परेका छन् । यस्तै खस आर्य महिलातर्फ विनु रायमाझी पौडेल र गीता देवकोटा चुनावी मैदानमा छन् ।

पौडेल तरूण दल चितवनका पूर्वअध्यक्ष स्वर्गीय शिवप्रसाद पौडेलकी श्रीमती हुन् । पौडेलको भरतपुर कारागारमा रहेको समयमा हत्या भएको थियो । देवकोटा पूर्वी चितवनबाट नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । यस्तै केन्द्रीय सदस्य थारु खुलामा साजनकुमार महतो प्रतिस्पर्धामा छन् । उनी बागमती प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । त्यसअघि उनी कांग्रेस चितवनको प्रवक्ता पनि भएका थिए ।

चितवनमा नेपाली कांग्रेसको जनाधार राम्रो भएर पनि पार्टीको केन्द्रीय समितिमा लामो समयदेखि यहाँको प्रतिनिधित्व हुन सकेको छैन । केन्द्रीय सदस्य पदमा उम्मेदवारी पर्ने गरेपनि कसैले पनि जित्न सकेका छैनन् ।

पार्वती शाहको उम्मेद्वारी फिर्ता

केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले उम्मेद्वारी फिर्ता लिएकी छन् । शाहले शनिबार खस आर्य (महिलातर्फ) केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएकी थिइन् ।

चितवनबाट धेरै जनाले उम्मेद्वारी दर्ता गराएपछि आफूले उम्मेद्वारी फिर्ता लिएको शाहले नारायणी अनलाइनलाई जानकारी दिइन् । ‘हामी चितवनबाटै धेरै उम्मेद्वार भयौं, त्यसैले अरु नेताहरुलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएकी हुँ’–शाहले भनिन् ।

उनले चितवनबाट उम्मेद्वारी दिएकाहरुलाई जिताउन आफू लागि पर्ने बताइन् । उपमेयर शाह नेपाल महिला संघ चितवनकी अध्यक्ष समेत हुन् । उनी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छिन् । केन्द्रीय समितिका लागि शनिबार शाहसहित चितवनबाट १७ जनाले केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>