Breaking News
चितवनका सातसहित देशभर ३१५ जनामा कोरोना संक्रमण, ३०४ जना निको

चितवन, मंसिर २१-
पछिल्लो २४ घण्टामा चितवनमा थप सात जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा चार जना, खैरहनी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा एक जना र राप्ती नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार चितवनमा अहिले आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १६० जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा १५१ जना र अस्पतालको आइसोलेसनमा ९ जना रहेका छन् । चितवनका विभिन्न अस्पतालमा कोरोनाका १५ जना बिरामी भर्ना भएकोमा सात जना आईसीयूमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
देशभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नौ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र दुई हजार ४२४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ भने आठ लाख पाँच हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ जना रहेका छन् । जसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा रहेका छन् भने ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२३ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका एक बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।
























