Breaking News
चितवनमा भोलिबाट बाघ गणना हुँदै, करिब चार करोड रुपैयाँ खर्च हुने

चितवन, मंसिर १८-
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर पूर्वी सेक्टर सौराहाबाट भोलिबाट बाघ गणना सुरू हुँदै छ ।
क्यामेरा ट्रयापिङ विधिबाट गरिने बाघ गणनामा पूर्वको इलामदेखि पश्चिम डडेल्धुरासम्मै क्यामेरा राखेर बाघको गणना गरिने वन्यजन्तु विभागले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका अनुसार गणनाका लागि आवश्यकताअनुसार हात्ती, गाडी, मोटरसाइकलको प्रयोग गणनामा हुनेछ । गणनाका लागि क्यामेरालाई १५ देखि २१ दिनसम्म राखेर आवतजावत गर्ने बाघको तस्विरलाई कैद गर्छ र पछि फोटो हेरेर बाघको संख्या यकिन हुनेछ । गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, विज्ञहरू, प्रशिक्षार्थी विद्यार्थीहरु, नेचर गाइडहरु सहभागी हुनेछन् । देशभर बाघ गणनाका लागि करिब चार करोड रुपैयाँ खर्च हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । यसमा नेपाल सरकारको ८४ लाख रुपैयाँ खर्च हुनेछ । बाँकी राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा डब्लुडब्लुएफ र जुलजिकल सोसाइटी अफ लण्डन(जेडएसएल)ले खर्च गर्नेछन् । सन् २०१८ मा गरिएको गणना अनुसार देशभर गरिएको गणनामा २३५ वटा बाघ भेटिएका थिए । चितवन निकुञ्जमा ९३, बर्दिया निकुञ्जमा ८७, पर्सा निकुञ्ज र आसपासमा १८, बाँके निकुञ्ज र आसपासमा २१, शुक्लाफाँटा र आसपासमा १६ वटा वयस्क बाघ भेटिएका थिए।
देशभर एक वर्षको अवधिमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । धेरैजसो बाघको आक्रमणको घटना साँझ, बिहान बाघ सक्रिय हुने समयमा भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट वेदकुमार ढकालले जानकारी दिए । ‘निकुञ्ज क्षेत्रमा आवतजावत गर्न मनाही छ। तर, माछा मार्ने, निगुरो र साग टिप्नेहरू जंगलभित्र पुग्दा आक्रमणमा परेका छन्,’ उनले भने।
सबैभन्दा धेरै बर्दिया र चितवनमा मान्छे–बाघ द्वन्द्व छ । असामान्य समयमा मानवीय क्रियाकलाप बढेका कारण घटना भएको ढकालको बुझाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत पार्क रेन्जर सुजिता राउतका अनुसार यस वर्ष मात्रै ४० जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ ।
त्यसमध्ये १३ जनाको मृत्यु बाघको आक्रमणबाट भएको छ । अन्य १३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । गैंडाबाट ६, भालु र चितुवाबाट ३\३, गौरीगाई र जंगली बँदेलबाट १\१ जनाको मृत्यु भएको छ। ७७ जना सख्त घाइते भएका छन् भने ५५ जना सामान्य घाइते भएका छन् ।
यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा १४, चितवन राष्ट्रिय निकुञ्जमा १२, शुक्लाफाँटा निकुञ्जमा ३, कोसीटप्पु वन्यजन्तु आरक्षमा ८, अन्नपूर्ण संरक्षण क्षेत्र, मकालु वरुण राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्जमा १÷१ जनाको मृत्यु भएको राउतले बताइन् । मानिसलाई आक्रमण गर्ने केही बाघलाई जाउलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । चिडियाखानामा वन्यजन्तु व्यवस्थापन शाखामा कार्यरत गणेश कोइरालाका अनुसार तीनवटा बाघले चितवनमा मान्छे मारेपछि समातेर ल्याइएको हो । अहिले चिडियाखानामा चार बाघ र एक बघिनी छन । १७, १२, १० र २ वटा ८ वर्षका बाघ छन् । बाघ दिनभरि सुत्ने र रातमा सक्रिय हुन्छन्।
























