Breaking News
प्रतिक्रान्तिको खतरा टरेको छैन,बयलगाडा सिद्धान्तवाला हिडिराखेका छन्: प्रचण्ड

चितवन, मंसिर १८-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा प्रतिक्रान्तिको खतरा अझै टरिनसकेको बताएका छन् ।
माओवादी केन्द्रनिकट अपांगता संगठन नेपालको आज भरतपुरमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रचण्डले नेपालमा प्रतिगमन र प्रतिक्रान्तिको खतरा अझै नटरेको बताएका हुन् ।
उनले भने, ‘बयलगाडा सिद्धान्तवाला अहिले पनि बयलगाडामा नै चढेर हिडिराखेका छन् । यसका विरुद्ध हामीले देशव्यापी आन्दोलन ग¥यौं, संघीय गणतन्त्र संस्थागत नभएकोले सबै सजग हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्रले मात्र जनताको हकअधिकारलाई स्थापित गर्न सक्छ । प्रतिगमनका विरुद्ध लड्दै हामीले ल्याएका हौं । कोइ प्रतिगामी फटाहाहरुले यसलाई उल्टाउन पाइने छैन ।’
अध्यक्ष प्रचण्डले अपांगता भएकाहरुलाई विगतको राज्यले त्यती धेरै महत्व नदिए पनि अहिले लोकतान्त्रिक गणतन्त्रको संविधानमा केही हक अधिकारहरु स्थापित गरिएको बताए । उनले भने, ‘पहिलो संविधानसभामा पहिलो पटक अपांगता भएका नागरिकहरुको हकअधिकार वृद्धिविकासको पक्षमा धेरै कुरा लेखिएको थियो तर त्यो संविधानसभाले संविधान बनाउन सकेन । दोस्रो संविधानसभामा माओवादी कमजोर भएपछि अपांगता भएका नागरिकहरुको हकअधिकारमा कटौती गरियो । भनेजस्तै उत्पीडित वर्ग वा समुदायको बारेमा अझ धेरै गर्नुछ ।’
अहिले संविधानमा मौलिक अधिकारको रुपमा जे राखिएको छ ती सबै जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित भएको बताए । उनले पहिले संविधान राजामहाराजाले दिने दस्तावेज हुन्थ्यो भन्दै राजाको अनुकम्पा र कृपाले संवैधानिक हकअधिकार स्थापित गरिएको बताए । उनले भने, ‘जनयुद्ध र जनआन्दोलनमार्फत् समानुपातिक मान्यतालाई स्थापित गरेपछि महिला, अपांगता र सबै समुदायको अधिवेशनमा प्रतिनिधित्व गराउन प¥यो । संघीय लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै गर्दा यसको विरोध गर्नेहरुले यसको बारेमा बोल्नै पर्छ ।’ उनले अपाङ्गता भएका नेता तथा कार्यकर्ता भएकाहरुलाई राष्ट्रिय सम्मेलनमा धेरैभन्दा धेरै प्रतिनिधित्व गराउनु पर्छ । जसले धेरै ल्याउँछ त्यसलाई प्रोत्साहन गर्ने भनिएको छ । पार्टीको राष्ट्रिय सम्मेलनमा राजनीतिक नियुक्तिको प्रक्रिया चलिरहेको छ । अपांगता भएकालाई यो पटक छुटाइने छैन । विभिन्न राजनीतिक नियुक्तिमा तपाइँहरुको प्रतिनिधित्व होस् भन्ने चाहन्छु ।’ उनले कार्यक्रममा चितवनमा एमालेले महाधिवेशन उद्घाटनको अवसरमा गरेको जनप्रदर्शनलाई पञ्च¥यालीको संज्ञा दिए । उनले भने, ‘ विचार , राजनीति थिएन, पञ्च¥याली जस्तो थियो । पञ्चायतकालमा सबै नेपाली पञ्च भनेर नेताहरुले भाषण गर्दथे ।’
























