Breaking News

चितवनमै लाइसेन्स नविकरण सुरु, प्रचण्डले गरे शुभारम्भ

Banner

चितवन, मंसिर १८–

चितवनमा आज (शनिबार)देखि औपचारिक रुपमै स्मार्ट लाइसेन्स नविकरण कार्य सुरु भएको छ ।

पूर्वप्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का सांसद समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार विहान लाइसेन्स हस्तान्तरण गर्दै स्मार्ट लाइसेन्स नविकरण सेवाको शुभारम्भ गरेका हुन् । सो क्रममा बोल्दै अध्यक्ष दाहालले चितवनबाटै यस्तो सेवा पाउनु सेवाग्राहीलाई धेरै सहज हुने बताए । उनले छिट्टै सबै खालको यातायात सेवा चितवनबाटै पाउने गरि कार्यालय स्थापनका लागि सहयोगी भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष दाहालले शुभारम्भ गरेसंगै सवारी दर्ता र स्मार्ट लाइसेन्स नविकरण सेवा भएको यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिए । उनले यातायात कार्यालयमा भिडभाड नहोस् भन्नका लागि सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणाली मार्फत अनलाइन टोकन प्रणाली लागू गरिएको जानकारी दिए । जसका लागि भिजिट टिएमओ वा चितवन यातायात डट बागमती डट जिओभी डट एनपी मा लगइन गरि आफ्नो विवरण भरेर टोकन लिन सकिन्छ । सोही टोकन र समयका आधारमा सेवा लिन सकिन्छ कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

कार्यालय प्रमुख पौडेलले छिट्टै पुरानो प्रकारका पेपकार्ड लाइसेन्सको पनि नविकरण सुरु गर्ने बताए । अहिले प्राविधिक समस्याका कारण स्मार्ट लाइसेन्स मात्रै नविकरण थालिएको उनले बताए । यस्तै आउँदो ३/४ महिना भित्रमा नयाँ लाइसेन्स समेत जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकार यातायात महाशाखाका प्रमुख नविन कुमार सिंहले ६ महिना भित्रमा अत्याधूनिक ट्रायल सेन्टर बनाउने गरि मन्त्रालयले तयारी थालेको बताए । उनले वार्षिक ९ अर्ब रुपैयाँ यातायातबाटै राजश्व संकलन हुने गरेको भन्दै यसले चितवनलाई समेत फाइदा पुग्ने बताए ।

चितवनमा वि.संं २०५१ सालदेखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालयको स्थापना भएको थियो । त्यतिबेला अस्थाई रुट इजाजत मात्रै दिने गरिएको थियो । सोही बेला सातामा एक दिन मात्रै वीरगंजबाट एक जना अधिकृत र एक जना मेकानिकल सुपरभाइजर आएर जाँचपास गर्ने व्यवस्था थियो । २०६२ सालमा सेवा विस्तार भएर वीरगंज कार्यालयको शाखाको रुपमा स्थापित यस कार्यालयबाट बाटो इजाजत, नियमित जाँचपास, कर जरिवाना, अस्थाइ रुट इजाजत सम्बन्धी काम थपिएको थियो । २०७१ साउन ३० गतेबाट स्थायी कर्मचारीको दरबन्दीसहित कार्यालयको कामलाई चुस्तदुरुस्त बनाउने प्रयास थालिएको थियो ।

२०७५ सालदेखि संघीयता लागू भएपछि बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत रहेर यस कार्यालय संचालनलाई अघि बढाईयो । त्यतिबेलासम्म सवारी साधनको बिलबुक नविकरण र कर तिर्ने, रुट इजाजत लिने, पटके लगायतका सेवाहरु संचालन भएको थियो ।

२०७७ वैशाख ६ गते सवारी साधन दर्ता समेत विस्तार गर्ने निर्णय बमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधान दर्ताको प्रक्रिया सुरु भएको छ । भदौं ३ गते सवारी चालक अनुमति पत्रको समेत कार्य गर्ने गरि मन्त्रालयले कार्यदेश दिएको थियो । त्यसपश्चात यही मंसिर ५ गतेबाट सवारी चालक अनुमति पत्र नविकरण ट्रायलको रुपमा सुरुवात गरिएको थियो ।

हाल बागमती प्रदेश अन्तरगतका सवारी साधनहरुको काठमाडौँ र प्रदेश राजधानी हेटौंडामा हुँदै आएको छ । चितवनमा समेत नविकरण र दर्ता सुरुवात भएकाले अब यातायात कार्यालयमा भिडभाडमा कमी आउने र सेवाग्राहीलाई सहज हुने विश्वास गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>