Breaking News
एउटै कम्युनिष्ट पार्टीको सरकार हुँदा काम गर्न गाह्रो भो, अहिले गठबन्धनको हुँदा सहज छः प्रचण्ड

चितवन, मंसिर १८–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं चितवन क्षेत्र नं.३ का सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार भएकाले चितवनको विकास निर्माणमा सहयोग मिलेको बताएका छन् ।
आज (शनिबार) विहान यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरबाट स्मार्ट लाइसेन्स नविकरण र सवारी दर्ताको शुभारम्भ गर्दै अध्यक्ष दाहालले गठबन्धनको सरकार भएकाले काम गर्न सहज भएको बताए । विगतमा एउटै कम्युनिष्ट पार्टी भए पनि आफूले भने अनुसार काम गर्न नसकिएको भन्दै यसपटक त्यस्तो नहुने बताए ।
आफूले सुरु देखि नै चितवनमा यातायात सम्बन्धि सबै सेवा प्रवाह हुने खालको कार्यालय स्थापना गर्न मेहनत गरेको भन्दै एउटै कम्युनिष्ट पार्टीको सरकारको बेला झनै कठिनाई भोगेको गुनासो गरे । ‘अहिले अलि सजिलो देख्याछु, हुन त हिजो एउटै कम्युनिष्ट पार्टीको सरकार हुँदा त्यति बेला झन सहिजो हुनुपर्ने त हो तर त्यस्तै त्यस्तै भयो त्यसमा अहिले जान चाहन्न’ प्रचण्डले विश्वास दिलाउँदै भने ‘अहिले गठबन्धनको सरकार छ तर सजिलो छ, यो पटक चाँही काम हुन्छ, जग्गा प्राप्ति सम्बन्धी भौतिक पूर्वाधार सम्बन्धि यो पटक काम हुन्छ ।’
अध्यक्ष दाहालले सबै खालको यातायात सेवा दिने गरि कार्यालय स्थापनाका लागि आफू काठमाडौं फर्किएलगत्तै सम्बन्धित मन्त्रालय र प्रधानमन्त्रीसंग भेट गरि प्रक्रिया अघि बढाउने विश्वास दिलाए ।
चितवनमा ट्रायल सेन्टरसहितको सबै सेवा दिनेगरि यातायात कार्यालय स्थापना भएमा सिंगो राष्ट्र नै लाभान्वित हुने भन्दै याताायात सेवामा भएका र यातायात क्षेत्रमा भएका विकासका निम्ति कोशोढुंगा सावित हुने बताए । उनले चितवन देशकै मध्यभागमा रहेको र यहाँ पनि सवारी चाप बढ्दो क्रममा रहेकाले यातायातका पूर्वाधारहरु चितवनमै निर्माण गरिनुपर्ने बताए । ‘भौतिक पूर्वाधार निर्माणका लागि जग्गा र पूर्वाधार निर्माणको मुख्य समस्या छ, यो चुनौति छ र संभावना पनि, चितवनमा चाप बढ्दो र देशको केन्द्र विन्दुमा भएको कारणले यातायात सम्बन्धी सबै सेवा चितवनबाटै दिनु राष्ट्रको हितमा हुन्छ’–अध्यक्ष दाहालले भने ।
























