Breaking News
एमाले कार्यकर्ता चितवनको विकास देखेर फर्किएकोमा खुशी छुः प्रचण्ड

चितवन, मंसिर १८–
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमालेले चितवनमा महाधिवेशन गरेर कार्यकर्तालाई चितवनको विकास देखाएकोमा आफू खुशी भएको बताएका छन् ।
आज (शनिबार) विहान सी बीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गर्दै अध्यक्ष दाहालले एमालले चितवनमा महाधिवेशन गर्नुलाई सकरात्मक रुपमा लिएको बताए । उनले भने–‘एमालेको कार्यक्रमलाई सकरात्मक रुपमा लिन्छु, यस्तै कार्यक्रमहरु चितवनमै गर्न अन्य राजनीतिक दलहरुलाई समेत आह्वान गर्छु ।’
अध्यक्ष दाहालले एमालले महाधिवेशन गरेर देशको राजनीतिको केन्द्र चितवन बनेको प्रमाणित भएको बताए । ‘एमाले कार्यकर्ताले चितवनको विकास मात्र देखेर फर्किएका छैनन्, चितवन जिल्लामा राजनीतिक महत्व के हो भन्ने कुरा स्थापित समेत गरेको गएको छ’–अध्यक्ष दाहालले भने ।
देशभरका जनताले चितवन, यहाँको विकास, नारायणी नदी, यहाँको धार्मिक पर्यटकीय स्थलहरु बुझेर जानु भनेको चितवनबासीका लागि खुशी र गर्वको कुरा रहेको प्रचण्डको भनाई थियो । उनले देशको मध्यभागमा चितवन पर्ने भएकाले देशकै विकासको नमुना केन्द्रविन्दु पनि चितवन बनोस् भन्ने आफूले चाहेको बताए । उनले सी बीच मोडलको विकासले राजनीतिज्ञ र पर्यटकहरुलाई आकर्षित गर्ने कुरामा महत्वपूर्ण योगदान दिने समेत बताए । उनले सिंगापुरको सन्तोषा आइसल्याण्ड जस्तै नारायणी नदी किनार र नगरबनलाई बनाउन सकिने धारणा राखे ।
यस्तै अध्यक्ष दाहालले शक्तिखोरमा सुरुङ मार्ग बनाउनेदेखि रेललाइन ल्याउने, मकवानपुर र नवलपुरलाई जोडेर वृहत्तर आर्थिक परियोजना बनाउने सम्मका सपनाहरु रहेको भन्दै चितवन छिट्टै नमुना जिल्ला बन्ने दावी गरे ।
कार्यक्रममा पर्यटन विभागका महानिर्देशक तानाराथ अधिकारीले सी बीच मोडलमा पर्यटन विभागले बहुवर्षिय योजना अन्तरगत बजेट विनियोजन गरेको बताए । उनले यस कार्य समयमै सम्पन्न हुनुपर्ने भन्दै भरतपुर महानगरले अनुगमनमा विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रमकी सभापति भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरको नेतृत्व सम्हाल्न पुगेदेखि नै नारायणी नदी किनारलाई सी बीच मोडलमा विकास निर्माण गर्ने भन्ने नीतिगत निर्णय गरिएको भन्दै प्रत्येक वर्ष विभिन्न संरचना निर्माणमा महानगरले निरन्तरता दिइरहेको बताइन् । उनले सी बीच मोडललाई महानगरले गौरवको आयोजनाको रुपमा लिदै आइरहेको भन्दै सबै तहका सरकारको सहयोगले नारायणी नदी नमुना पर्यटकीय गन्तव्य बन्ने बताइन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता एवं वडा नं.१० का अध्यक्ष अरुणपीडित भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सी बीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको अध्यक्ष प्रचण्डले शिलान्यास गरेका थिए भने मेयर दाहाल र प्रवक्ता भण्डारीले साथ दिएका थिए । यस मोडल अन्तरगत २.५ किलोमिटर पैदल मार्ग र ३ वटा पार्किङस्थल निर्माण गरिने छ । यसै मोडलमा रहेर भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवनको संयुक्त लगानीमा १.४ किलोमिटर पैदलमार्ग निर्माण भइसकेको छ ।
























