Breaking News

१३औँ चितवन महोत्सवः आन्तरिक तथा बाह्य पर्यटनमा केन्द्रित

Banner

चितवन, मंसिर ३–

यसवर्ष हुन लागेको १३औं संस्करणको चितवन महोत्सव आन्तरिक तथा बाह्य पर्यटनमा केन्द्रित हुने भएको छ ।

महोत्सवमा पर्यटनसंग सम्बन्धित गतिविधिहरु संचालन गरिने र त्यसका लागि आवश्यक छलफल भइरहेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । ‘हामी छलफलमै केन्द्रित छौं, यसपटक महोत्सव पर्यटन केन्द्रित बनाउँदै आर्थिक पुनरुत्थानको नयाँ दियो बाल्ने कोशिसमा छौं’–अध्यक्ष श्रेष्ठले भने ।

चितवन जिल्लाको पहिचान, यसको बहुआयामिक विविधता, यहाँको पर्यापर्यटन र चितवन आन्तरिक तथा बाह्य दुवै पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो भन्ने विषयमा महोत्सव केन्द्रित रहने अध्यक्ष श्रेष्ठले बताए ।

पुस २५ देखि माघ ४ गतेसम्म हुने महोत्सवको बारेमा शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरि औपचारिक रुपमा जानकारी गराईएको छ । कोभिड–१९ का कारण गत वर्ष हुनुपर्ने महोत्वस रोकिएको थियो । त्यसैले यसवर्षको महोत्सवले व्यवसायिक क्रियाकलाप भन्दा पनि कोभिड–१९ का कारण विक्षिप्त बनेको आर्थिक क्षेत्र, हतोत्साहित भएका उद्यमी व्यवसायी र आमसर्वसाधरणलाई आर्थिक पुनरुत्थानको एउटा नयाँ दियो बाल्नेमा आशाबादी रहेको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

यसवर्षको महोत्सवमा ४ वटा विशेष स्टल र डोमसहित ३५० वटा स्टलहरु रहने छन् । ती सबै स्टलको बिमा गरिने छ । लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, हस्तकलाका सामग्री, पोल्ट्रि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर, बैंक तथा वित्तिय संस्थाहरु, रेष्टुरेन्टलगायत जनजातिको रहनसहन झल्किने घरहरु महोत्सवमा हुनेछन् ।

यस्तै महोत्सवको अवधिमा फुड फेष्टिबल र विभिन्न क्षेत्रको आर्थिक विकासका सम्भावनामा केन्द्रीत रहेर दैनिक सेमिनार र गोष्ठीहरु हुनेछन् । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ भने २५ करोड भन्दा माथिको कारोबार हुने संघले अनुमान गरेको छ । महोत्वमा जेष्ठ नागरिक, एक महिला, शहिद परिवार र अपांगहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । नेपालमा कोभिडको संक्रमण दर घट्दै गएकाले महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । युरोपमा संक्रमणदर बढ्दो अवस्थामा नेपालमा समेत प्रभाव पर्दै महोत्सव स्थगित समेत गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>