Breaking News
यु–१९ बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि चितवनलाई

चितवन, मंसिर २–
यु–१९ बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । काठमाडौंँस्थित मुलपानीमा आज (बिहीबार) भएको फाइनलमा ललितपुरलाई ४८ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । समूह चरणको अन्तिम खेलमा ललितपुरलाई नै चितवनले ६० रनले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो ।
उपाधिका लागि २१७ रनको लक्ष्य पछ्याएको ललितपुर ३६.३ ओभरमा १६८ रन बनाउँदै अलआउट भयो । ललितपुरका विवेक राना मगरले सर्वाधिक ६७ रन बनाए । अर्जित भण्डारीबाट क्याचआउट हुनुअघि मगरले ९५ बलमा ६ चौका प्रहार गरेका थिए । फरिद खानले ३७ रन बनाए । प्रतिक श्रेष्ठबाट बोल्डआउट भएका खान ५६ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे । तिलकराज भण्डारी २० बलमा २६ रन बनाउँदै अर्जितकै बलमा आउट भए । उनले ३ छक्का प्रहार गरे । ललितपुरका अन्य व्याटरले दोहोरो रन जोड्न सकेनन् ।
ललितपुरको सुरुवात निकै खराब रह्यो । २ रनको अवस्थामा महत्वपूर्ण २ विकेट गुमाउन पुग्यो । दुवै ओपनर दुर्गेश थापा र रोनिम तिवारी समान एक/एक रन बनाउँदै आउट भएपछि ललितपुर दवाबमा परेको थियो । फरिद खान र विवेक राना मगरले ८८ रनको उत्कृष्ट साझेदारी गर्दै ललितपुरको पारीलाई उकासेका थिए ।
खानलाई आउट पार्दै शतक नजिक पुगेको यी दुईको साझेदारी प्रतिक श्रेष्ठले तोडेका थिए । थप १० रन जोड्दा ललितपुरले चौथो विकेट गुमायो भने थप ४ रन जोड्दा पाँचौँ विकेट गुमायो । थप २ रन जोड्दा छैठौं विकेट गुमाएपछि ललितपुर फेरि दवाबमा परेको थियो । विवेक र तिलकले ४२ रनको साझेदारी गर्दै ललितपुरलाई १४८ रनको अवस्थामा पु¥याएको थियो । थप २० रन जोड्दा सबै विकेट गुमाउँदै ललितपुर १६८ रनमै समेटिएपछि चितवनले उपाधि उचालेको हो ।
चितवनका लागि अर्जित भण्डारीले २.३ ओभरमा ११ रन खर्चिदै ३ विकेट लिए । विशाल यादव र प्रशान्त महतले समान २÷२ विकेट लिए । कप्तान गौतम केसी र प्रतिक श्रेष्ठले समान एक/एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको चितवनले ओपनर सुर्यान्सु कोइरालाको अर्धशतकीय पारीको मद्धतमा ३८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रन बनाएको थियो । सुर्यान्सुले ८१ बलमा ६८ रनको योगदान दिए । रनआउट हुनुअघि सुर्यान्सुले ८ चौका प्रहार गरेका थिए । स्वप्निल सिंह अधिकारीले ४३ बलमा ४० रन बनाए । उनले ३ चौका र एक छक्का प्रहार गरे । अर्जित भण्डारीले ३२ बलमा २३ रन बनाए भने प्रशान्त महतले ३३ बलमा २० रन बनाए । प्रतिक श्रेष्ठले १७ र कृजन गुरुङले १० रन बनाए ।
चितवनका ओपनर सुर्यान्सु कोइराला र प्रशान्त महतले उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुईले ५२ रनको अर्धशतकीय साझेदारी गरे । ५२ रनको अवस्थामा चितवनले प्रशान्त महतलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । थप रन जोड्न नपाउँदै चितवनले सुजन चापागाईँलाई शून्यमै गुमाएपछि सुर्यान्सु र अर्जितले चितवनको पारीलाई सम्हालेका थिए । यी दुईले ३५ रनको साझेदारी गरे । यस्तै सुर्यान्सु र स्वप्निलले ७४ रनको दोस्रो अर्धशतकीय पारी खेलेपछि चितवन १६१–४ को अवस्थामा पुगेको थियो । थप दुई रन जोड्दा पाँचौँ विकेट गुमायो भने थप २० रन जोड्दा छैठौं विकेट गुमायो । एकपछि अर्को विकेट गुमाउँदै चितवनले २१७ रनको लक्ष्य खडा गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका चितवनका सुर्यान्सु कोइराला बेस्ट व्याटर, प्लेयर अफ दि फाइनल र इमर्जिङ प्लेयर गरी तीन विधामा अवार्ड जिते । १४ वर्षीय सुर्यान्सुले यसप्रतियोगिताबाट उत्कृष्ट छाप छोड्न सफल भएका छन् । उनी भारतमा क्रिकेट सिक्दै आएका छन् ।
यस्तै चितवनकै प्रतिक श्रेष्ठ म्यान अफ दि सिरिजको अवार्ड जित्न सफल भए ।

























