खेलकुद

एलटिके पौडी प्रतियोगिताः गौरभ र परिधिलाई तीन–तीन स्वर्ण

Banner

चितवन, कात्तिक २८–

भरतपुरमा सम्पन्न राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटिके पौडी प्रतियोगितामा गौरभ लामा र परिधि भण्डारी समान तीन–तीन स्वर्ण पदक जितेका छन् । उनीहरु दुवै जना प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पहिलो दिन एक स्वर्ण जितेका काठमाडौंका गौरभले दोस्रो तथा अन्तिम दिन थप दुई स्वर्ण जिते । उनले आज (आइतबार) १५ वर्ष माथिको ब्याक स्ट्रोकमा स्वर्ण पदक हात पारे । उनले उक्त दुरी एक मिनेट ११ दशमलव ५४ सेकेन्डमा पुरा गरे । सोही इभेन्टमा नेपालगञ्जका अजय परियारले रजत जिते । उनले उक्त दुरी पुरा गर्न एक मिनेट ४९ सेकेन्ड लगाए ।

यस्तै आज नै गौरभले एक सय मिटर फ्री स्टाईलमा पनि स्वर्ण पदक जिते । उनले उक्त दुरी पुरा गर्न एक मिनेट एक दशमलव एक सेकेन्ड लगाए । सोही इभेन्टमा काठमाडौंका यजु महर्जनले रजत तथा नेपालगञ्जका सुमन न्यौपानेले कास्य जिते । यजुले उक्त दुरी एक मिनेट १६ दशमलव १ सेकेन्डमा पुरा गर्दा सुमनले एक मिनेट २२ दशमलव ५१ सेकेन्ड लगाए ।

पहिलो दिन गौरभले १५ वर्ष भन्दा माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण पदक जितेका थिए । उक्त दुरी पार गर्न उनले एक मिनेट १८ दशमलव ४९ सेकेन्ड लगाएका थिए । १७ वर्षीय गौरभले नेपालबाट साफ च्याम्पियनसिप समेत खेलिसकेका छन् ।

काठमाडौंकै परिधिले महिलातर्फ १५ वर्ष माथिको एक सय मिटर फ्लाईमा स्वर्ण पदक जितिन् । उक्त दुरी पार गर्न उनले एक मिनेट ५० दशमलव ८५ सेकेन्ड लगाईन् । आज नै उनले एक सय मिटर फ्री स्टाईलमा पनि स्वर्ण जितिन् । उक्त दुरी पुरा गर्न उनले एक मिनेट ३० दशमलव ३७ सेकेन्ड लगाईन् । यस अघि उनले पहिलो दिन १५ वर्ष माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोक महिलातर्फ स्वर्ण पदक जितेकी थिईन् । उनले उक्त दुरी एक मिनेट ४९ दशमलव ९९ सेकेन्डमा पुरा गरेकी थिईन् ।

काठमाडौंकी अश्रेस्ता राई, काठमाडौंकै प्रारम्भ भण्डारी र नेपालगञ्जका अमित रावलले पनि समान तीन/तीन स्वर्ण जिते । पहिलो दिन एक(एक स्वर्ण जितेका अश्रेस्ता, प्रारम्भ र अमितले अन्तिम दिन थप दुई स्वर्ण जिते । अश्रेस्ताले आज ५० मिटर ब्याक स्ट्रोक र ५० मिटर फ्री स्टाइलमा स्वर्ण जितिन् । उनले ५० मिटर ब्याक स्ट्रोक ५२ दशमलव ६४ सेकेन्डमा पुरा गरिन् भने ५० मिटर फ्री स्टाइल ४४ दशमलव २९ सेकेन्डमा पुरा गरिन् । यस अघि पहिलो दिन उनले ११–१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाईमा राईले स्वर्ण जितेकी थिईन् । उनले उक्त दुरी पुरा गर्न ४८ दशमलव ६४ सेकेन्ड लगाएकी थिईन् ।

उता अमितले आज ११–१२ वर्ष उमेर समूहको ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जिते । उनले उक्त दुरी ३७ दशमलव ७९ सेकेन्डमा पुरा गरे । यस्तै उनले आज नै ५० मिटर फ्री स्टाईलमा पनि स्वर्ण जिते । उनले उक्त दुरी पुरा गर्न ३५ दशमलव ३५ सेकेन्ड लगाए । ३९ दशमलव ८५ सेकेन्ड लगाएका नेपालगञ्जका दिवस रेग्मीले रजत तथा ५० दशमलव २९ सेकेन्ड लगाएका काठमाडौंका जोर्डन श्रेष्ठले कास्य जिते ।

प्रारम्भले १३–१४ वर्षको एक सय मिटर ब्याक स्ट्रोकमा स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट १० दशमलव ९२ सेकेन्डमा पुरा गरे । यस्तै आज नै उनले एक सय मिटर फ्री स्टाईलमा पनि स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट ३ दशमलव १४ सेकेन्डमा पुरा गरे । यस अघि उनले पहिलो दिन एक सय मिटर फ्लाईमा स्वर्ण जितेका थिए ।

नेपालगञ्जका बिशेष सिंहले दुई स्वर्ण र एक रजत जिते । उनले आज ९–१० वर्ष उमेर समूहको २५ मिटर ब्याक स्ट्रोकमा स्वर्ण जिते । उनले उक्त दुरी २० दशमलव ३२ सेकेन्डमा पुरा गरे । यस अघि बिशेषले आइतबार २५ मिटर ब्रेस्ट स्ट्रोकमा स्वर्ण जितेका थिए ।

नेपालगञ्जकै सुबाङ बोहराले पनि दुई स्वर्ण र एक रजत जिते । उनले आज २५ मिटर फ्री स्टाईलमा स्वर्ण जिते । उक्त दुरी उनले १७ दशमलव ६० सेकेन्डमा पुरा गरे । आज नै उनले २५ मिटर ब्याक स्ट्रोकमा एक रजत जिते । उनले पहिलो दिन ९–१० वर्षको २५ मिटर फ्लाईमा स्वर्ण जितेका थिए ।

काठमाडौंका रचित बुढाथोकीले दुई स्वर्ण, काठमाडौंकै जतेन श्रेष्ठले एक स्वर्ण दुई रजत, यजु महर्जनले एक स्वर्ण र एक रजत तथा जोर्डन श्रेष्ठ र ओशिन लामाले एक स्वर्ण जिते । भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा भएको प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु सहभागी थिए । चितवनमा पनि पौडी प्रतियोगिताप्रति आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका प्रमुख देवेन लोहनीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>