चितवन विशेष

देवघाट बौद्धद्वारको मेयर दाहालद्वारा उद्घाटन

Banner

चितवन, कात्तिक २५–

देछेन थार्वालिङ बौद्ध गुम्बा देवघाटको बौद्धद्वार उद्घाटन गरिएको छ । भोजमाया तामाङको परिवारबाट १४ लाख सहयोगमा उक्त गुम्बा निर्माण गरिएको हो । उक्त अवसरमा तीन महिने डोण्डो, स्यिठो, मानिङ (डुवा, ञ्याम्पा) गुफा समापन समेत गरिएको थियो ।

धार्मिक तथा साँस्कृतिक क्षेत्र प्रवेशद्वारको परिचित उक्त बौद्धद्वारको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले रिवन काटेर उद्घाटन गरेकी हुन् । सो क्रममा मेयर दाहालले गुम्बाका लागि २० लाख बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘सबै गुम्बालाई सहयोग गर्दै आएका छौं ।’ उनले भनिन्, ‘यो गुम्बालाई पनि सक्दो सहयोग गर्नेछु ।’ गुम्बाको लागि आवश्यक सहयोग यकिन गरेर आएमा महानगरबाट तुरुन्तै उपलब्ध गराउने उनले बताइन् । सबै समुदाय सरह तामाङ समुदायको अधिकारका लागि कुनै पनि भेदभाव नगरिने उनको भनाइ थियो ।

उनले जाति, क्षेत्र, समुदायलाई कुनै भेदभाव नगरीकन अझ विशेष गरी वर्षौदेखि राज्यबाट उत्पीडित र अधिकारका बञ्चित भएका तामाङ समुदायलाई कहिँ कतैबाट कमी हुन नदिने बताइन् ।

समानुपातिक, समावेशिता, पहिचान र अधिकारका लागि लडेका हामी सम्पूर्ण वर्ग क्षेत्र जाति र समुदाय सबै एक भएको उनले बताइन् । धार्मिक, पहिचान, अधिकारका लागि हिजोको तुलनामा धेरै सहज भएको उनको जिकिर थियो ।

चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सबै तामाङ समुदायलाई आफ्नो हक अधिकारका लागि शिक्षामा जोड दिन आग्रह गरे । राज्यस्तरको निकायमा स्थान बनाउन मेहनत गरे कुनै गाह्रो नभएको उनको भनाइ थियो ।

प्रजिअ तामाङले लोकसेवा अध्ययन गरेमा धेरै ज्ञान हुने भएकाले यसमा सबै तामाङ समुदायले जोड दिनु पर्ने बताए । राज्यस्तरको जुनसुकै निकायमा लड्नका लागि लोकसेवा अनिवार्य भएकाले सबैले यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

बौद्ध धार्मिक तथा साँस्कृतिक क्षेत्र निर्माण समिति देवघाटका निर्माण संयोजक शम्भु पाख्रिनले २०७७ साल असार २६ गते उक्त बौद्धद्वारको शिलान्यास गरिएको जानकारी दिए । उनले सोही अवसरमा ५१ जना लामा गुरुहरुको गुफा समापन पनि गरिएको बताए ।

कार्यक्रममा गुम्बा निर्माण तथा बौद्धद्वार निर्माणमा सहयोगी ११ जना व्यक्तित्वहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा गुम्बाका प्रमुख गुरु तथा नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघका केन्द्रीय महासचिव प्रेम दोर्जे बल लामा, भरतपुर नगर तामाङ समाजका निवर्तमान अध्यक्ष गंगालाल लामा लगायत विभिन्न संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभापति सुकमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>