चितवन विशेष
आगामी निर्वाचनमा विवेकशील साझा पार्टीले ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दिन्छ: सचिव कार्की

चितवन, कात्तिक २४-
विवेकशील साझा पार्टी चितवनका सचिव नितान्त कार्कीले आफ्नो पार्टीले आगामी निर्वाचनमा ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दिने बताएका छन् ।
कार्कीले नारायणी अनलाइन टेलिभिजनसँगको अन्तरवार्तामा सो बताएका हुन् । उनले भने, ‘चैत÷वैशाखतिर हुने स्थानीय तहको निर्वाचनमा देशका सबै स्थानीय तहमा हाम्रो पार्टीको उम्मेदवारी रहन्छ । प्रदेशको खारेजी र धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह नै हाम्रो मुख्य एजेण्डा हो ।’
सचिव कार्कीले देशको मौलिक मुद्दानै आफूहरुले उठाउँदै आएको दाबी गरे । उनले धर्मनिरपेक्षता आयातित मुद्दा भएको विचार राखे । उनले देशका पुराना राजनीतिक दल र विवेकशिल साझा पार्टीबीचमा ठूलो अन्तर रहेको पनि दाबी गरे ।
सचिव कार्कीले अन्तरवार्तामा भने, ‘ पार्टी अध्यक्ष रविन्द्र मिश्रले राजतन्त्रको बारेमा वकालत गरेको भन्ने भ्रम मात्र हो । कुनै पनि दस्तावेजमा त्यसको बारेमा उल्लेख गरिएको छैन । पुराना राजनीतिक दलहरु क्याम्पसमा विद्यार्थी संगठन र सरकारी कार्यालयमा ट्रेड युनियन बनाएर राजनीति गर्दै छन् हामी बिल्कुलै त्यो गर्दैनौं । हामी भ्रष्टचारको शून्यतामा विश्वास गर्छौं । न्यायलय पनि त्यस्तै छ । राज्यको ढुकुटी सक्नेमा मात्र सबैको ध्यान गएको छ ।’ उनले देशभर फैलिएको कोरोना महामारी र लकडाउनमा पनि आफ्नो पार्टीले भोकाहरुलाई भोजन नियमित खुवाएको दाबी गरे । उनले भने, ‘हामीसधै जनताको बीचमा सँगै बसेर काम गर्न चाहन्छौं । जनताको मुद्दामा अटल भएर उभिएका छौं । पार्टीभित्र केही विवाद देखिनु लोकतन्त्रको सुन्दर पक्ष हो । हामी त्यसलाई हल गर्दै एक ढिक्का भएर अगाडि बढ्ने छौं ।’
























