Breaking News

चितवनमा एक वर्षमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु, दुई करोड बढी राहत वितरण

Banner

मधुसूदन दवाडी

चितवन, कात्तिक २४-

चितवन राष्ट्रिय निकुञ्ज वरपरको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७७\७८ मा वन्यजन्तुको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले नारायणी अनलाइनलाई उपलब्ध गराएको तथ्यांक अनुसार एक वर्षमा विभिन्न घटनामा निकुञ्जले दुई करोड चार लाख ६१ हजार २९० रुपैयाँ राहत वितरण गरेको हो ।

१२ जनाको मृत्यु हुँदा मृतकको आफन्तलाई निकुञ्ज प्रशासनले एक करोड २० लाख रुपैयाँ राहतस्वरुप मृतकका परिवारलाई उपलब्ध गराएको छ ।
त्यस्तै सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४५ जना घाइते भएका छन् । घाइतेलाई निकुञ्ज प्रशासनले २६ लाख ५२ हजार ९४५ रुपैयाँ राहत उपलब्ध गराएको निकुञ्जले जनाएको छ । त्यसैगरी सोही एक वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट ८६ वटा घरपालुवा पशुको मृत्यु भएको छ । सो क्षतिको लागि निकुञ्ज प्रशासनले १० लाख ७८ हजार ६०० रुपैयाँ राहत प्रदान गरेको छ । निकुञ्ज वरपरको मध्यवर्ती क्षेत्रमा सोही गत एक वर्षको अवधिमा जनावरले घर र गोठ गरेर १३ वटामा क्षति गरेको छ । जसका लागि निकुञ्ज प्रशासनले ८४ हजार २७० रुपैयाँ राहत प्रदान गरेको छ । त्यस्तै ६६६ वटा घटनामा मध्वर्ती क्षेत्रका नागरिकको खाद्यान्नबाली क्षति भएको छ । सो क्षतिका लागि निकुञ्ज प्रशासनले ४६ लाख १५ रुपैयाँ राहत दिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको प्रभावित क्षेत्र जसलाई मध्यवर्ती क्षेत्र भनिन्छ । विसं २०५३ मा निकुञ्ज वरपरको क्षेत्र ७५० वर्ग किलोमिटर क्षेत्रफल ओगटेर मध्यवर्ती क्षेत्र घोषणा गरियो । चितवनमा माडी नगरपालिकासँगै निकुञ्जको मध्यवर्ती क्षेत्रमा ठूलो संख्यामा मानिसहरुको बसोबास रहेको छ । राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्यांक अनुसार मध्यवर्ती क्षेत्रमा चितवनसहित विभिन्न जिल्लाका तीन गाउँपालिका, आठ नगरपालिका र एक महानगरपालिका रहेका छन् । जसको जनसंख्या दुई लाख, ४७ हजार ७२० रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>