Breaking News
सरकार बनाउन गठबन्धन गरेको हो, निर्वाचन लड्न होइनः मन्त्री रेग्मी

चितवन, कात्तिक १५–
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री एवं नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस चितवनले आज नारायणगढमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले चैत हुन तयारी भइरहेको स्थानीय तहको निर्वाचलाई हेक्का राखेर महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताउनुभयो ।
‘हामी भित्र स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ,, चुनाव लड्ने त कम्युनिष्टहरुसंग हो’ मन्त्री रेग्मीले भन्नुभयो ‘हामी सबै मिलेर महाधिवेशन सफल पारौं, निर्वाचनमा एकढिक्का भएर लडौं ।’ मन्त्री रेग्मीले अरुको घर भत्कियो भनेर खुशी हुनुभन्दा आफ्नो घर कसरी बलियो बनाउने भन्नेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आउने निर्वाचनहरुमा नेपाली कांग्रेस कसैसंग तालमेल नगरि एक्लै लड्नुपर्ने बताउनुभयो । ‘कसैसंग सम्झौता गर्न हुँदैन, सरकार बनाउन पो गठबन्धन गरेको निर्वाचन लड्न होइन, कोही पनि कन्फ्युज हुनुहुदैन’–मन्त्री रेग्मीले भन्नुभयो । उहाँले कांग्रेस आफै सक्षम हुनुपर्ने भन्दै त्यसका लागि एकले अर्काको खुट्टा तानातान गर्ने मिसनलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
उहाँले कांग्रेस भित्र एकले अर्कालाई सक्याउने मिसनमा लागेकाले नै कांग्रेस कमजोर बनेको भन्दै सबै एकजुट भए कांग्रेसलाई कसैले हल्लाउन नसक्ने बताउनुभयो । ‘हामी मिल्यौं भने सहजै चुनाव जित्छौं, कसैसंग तालमेल गर्न पर्दैन’–मन्त्री रेग्मीले भन्नुभयो ।
























