Breaking News

सरकारले चार करोड निकासा नगर्दा भरतपुरको राष्ट्रिय सहकारी संग्रहालय निर्माणको काम अलपत्र

Banner

धना गुरुङ

चितवन, कात्तिक १४-

नेपालकै पहिलो सहकारी संस्था बखान सहकारी संस्थाले निर्माण गरिरहेको बखान राष्ट्रिय सहकारी संग्रहालय पाँच वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।

आर्थिक अभावका कारण संग्रहालय सम्पन्न गर्न नसकिएको संस्थाका अध्यक्ष रेशमलाल गुरुङले जानकारी दिए । भरतपुर महानगरपालिका–१९ शारदानगरमा केन्द्रीय सरकारको सहयोगमा ९ करोड बढीको योजनामा निर्माण गर्न लागिएको यस सङ्ग्रहालयमा पाँच करोड बजेट पारित भई टेन्डर खुलाई दुई वर्षमा ५५ प्रतिशत काम सम्पन्न भएको र पछिल्लो समयमा चार करोड बजेट उपलब्ध नहुदा तीन वर्षदेखि आर्थिक अभावका कारण निमार्ण कार्य ठप्प रहेको अध्यक्ष गुरुङले बताए ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष कर्णबहादुर गुरुङले सरकारले चार करोड रुपैयाँ निकासा नगर्दा संग्रहालय निर्माणको काम सम्पन्न हुन नसकेको बताए । उनले भने, ‘ संघीय सरकारसँग बजेट ल्याउने पहल गरिरहेका छौं । रंगरोगन र फिनिसिङको काम बाँकी छ । बजेट निकाशा हुने बित्तिकै निर्माणको कार्य सकिन्छ ।’

विभिन्न जनजातिका भेषभूषासहितको मूर्ती, पुराना कृषिमा प्रयोग गरिने औजारहरु लगायत अहिलेका नयाँ पिडीलाई पुरानो पिडीले के गर्थे कसो गर्थे भन्ने जानकारी गराउने, ५०० जना अटाउने सभा हल, सेमिनार हल, सहकारी भ्रमणमा आउनेहरुका लागि सस्तो खाना बस्नको ब्यवस्था गराउने, सहकारी सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले यो संग्रहालय निर्माण गर्न लागिएको हो । आर्थिक अभावका कारण अहिले भवन निमार्णको काम रोकिएको यस संग्रहालयको साढे तीन बिघा जग्गा रहेको छ ।

नेपालकै पहिलो सहकारी संस्था बखान सहकारीले विभिन्न प्राकृतिक प्रकोपमा परेकाहरुलाई राहत वितरण, आँखा तथा विभिन्न स्वाथ्य शिविरहरु ब्युटी पार्लर, झोला बुन्ने जस्ता तालिम पनि दिइरहेको छ भने सहकारीको आफ्नै दुई वटा तेल मिल पनि सञ्चालनमा छन् जसमा एउटा मिल कृषि ज्ञानकेन्द्रको ५० प्रतिशत अनुदान रहेको छ । सहकारीले मल, चुना, कृषकलाई ५० प्रतिशत अनुदानमा बिउबिजन र आफैले तोरीको तेल उत्पादन गरी बिक्रीबितरण गरिरहेको छ ।

गाउँको विकासका लागि समाजसेवी बखानसिंह गुरुङले चैत २०१३ मा बखानपुर सहकारी संस्था लिमिटेड स्थापना गरेका थिए । चितवनको शारदानगरस्थित यो सहकारी अन्तत मुलुककै जेठो सहकारी बन्न पुग्यो ।

त्यस बेला सहकारीमा पैसाको कारोबार खासै हुँदैनथ्यो । किसानलाई बीउबिजन र रासायनिक मल मात्र नभई गाईबस्तु र भेडाबाख्राको मल जम्मा गरी दिइन्थ्यो, ‘बखानसिंहका आफन्त तोपमानसिंह गुरुङ भन्छन्, सहकारीले धर्म भकारीमार्फत अन्न जम्मा ग¥थ्यो. । पैसा लगानी गरेझैँ अन्न लगानी गर्दथ्यो ।’

तोपमानका अनुसार त्यस बेला सहकारीमा ६० जना सेयर सदस्य थिए । उनीहरूबाट प्रतिव्यक्ति १० रुपियाँ लिइन्थ्यो । नयाँ सदस्यलाई एक रुपैयाँ मसद (प्रवेश शुल्क) लिइन्थ्यो । २०१७ सालमा पञ्चायती व्यवस्था सुरु भएसँगै सहकारी धराशयी बन्दै गयो । यसलाई पञ्चायतले साझा संस्था बनायो । २०४६ सालपछि स्थानीयले सहकारीलाई पुर्नजीवन दिए । अहिले सहकारीमा २०५ बढी सेयर सदस्य छन् ।

को हुन् बखानसिंह ?

नेपाली सेनाका क्याप्टेन बखानसिंह गुरुङ २००९ सालमा तनहुँबाट चितवनको शारदानगर आएका थिए । २००७ सालका प्रजातन्त्र सेनानी बखानसिंह आफ्नो गाउँका लागि केही गर्न चाहन्थे । त्यसैले खाली जग्गामा बस्ती बसाउन र विकासका लागि उनले सहकारी स्थापनाको अवधारणा अघि सारे । त्यसमा गाउँलेको साथ मिल्यो । उनले स्थापना गरेको सहकारीको नाम अहिले उनकै सम्झनामा राखिएको छ । २०३९ सालमा भूमिसुधारमन्त्रीसमेत बनेका बखानसिंहका छोरा धर्मध्वज २००७ सालको क्रान्तिमा र लालध्वज ०१८ सालको क्रान्तिमा सहिद भए । २०४० सालमा ८४ वर्षको उमेरमा उनको निधन भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>