Breaking News

१५ दिनमा नै मन्त्री पद त्यागेका चितवनका खनाल फेरि आज वाग्मती प्रदेशको मन्त्री बन्दै

Banner

चितवन, कात्तिक ११-

चितवनको एकीकृत समाजवादीका प्रदेश सांसद कृष्णप्रसाद खनाल फेरि आज मन्त्रीको रुपमा शपथ लिँदै छन् ।

वाग्मती प्रदेशमा समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्य मन्त्री बन्ने निश्चित भएपछि खनालले पनि आज प्रदेश मन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।
वाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएपछि सामाजिक विकास मन्त्री बनेका खनाल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दल दर्ता भएपछि मन्त्री पद त्यागेका थिए । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुखले बहुमतप्राप्त पार्टीको संसदीय दलका नेताका रुपमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्दै छन् । उनले केहीबेर पछि सपथ ग्रहण गर्ने कार्यक्रम छ ।

सपथ ग्रहण लगत्तै मुख्यमन्त्री पाण्डेले तीन मन्त्री नियुक्त गर्ने जनाइएको छ । नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको शपथ लिँदा एकीकृत समाजवादीकै कृष्ण खनाल, एकीकृत माओवादीका कुमारी मोक्तान र नेपाली कांग्रेसका कृष्णलाल भँडेलले मन्त्रीको शपथ लिने भएका हुन् । नयाँ नियुक्त मन्त्रीहरुले कुन मन्त्रालय पाउँछन् भन्ने अझै खुलाइएको छैन । खनाल चितवन २ (ख) बाट एमालेको तर्फबाट निर्वाचित सांसद हुन् । खनालले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी दर्ताको क्रममा हेटौंडाबाट राति राति काठमाडौँ पुगेर एकीकृत समाजवादीमा सनाखत गराएका थिए । खनालले राजीनामा दिएपछि चितवनकै अर्का प्रदेश सांसद विजय सुवेदी प्रदेश मन्त्री बनेका थिए ।

नेपाली कांग्रेस प्रदेश संसदीय उपनेता कृष्णलाल भँडेलले तत्काललाई मुख्यमन्त्रीसँगै तीन जनाले मन्त्रीको शपथ लिने तयारी रहेको जनाए । बागमती प्रदेशमा संघीय सरकार गठनमा गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा संघीय समाजवादीका ५९ प्रदेश सांसदहरुको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो तीन बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका थिए।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएको समाजवादीका सांसद बसन्त मानन्धरले जानकारी दिए। जसमा माओवादी केन्द्रका २३, कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जसपाका एकजना प्रदेश सभाका सदस्य छन् । आज दिउँसो ३ः१५ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>