Breaking News

फ्रान्समा पढेर फर्किएका चितवन पटिहानीका अग्रज होटल व्यवसायी श्रेष्ठको निधन

Banner

चितवन, कात्तिक ८-

चितवन पटिहानीको नारायणी सफारी होटलका मुख्य लगानीकर्ता गौतमदास श्रेष्ठको निधन भएको छ ।

हानका पूर्वअध्यक्ष गौतमदासले १५ वर्ष अगाडि नारायणी सफारी होटलको स्वामित्व किनेका थिए । इको पर्यटनलाई विशेष प्राथमिकता दिने श्रेष्ठले बाँचुन्जेल पर्यटनकै चिन्ता गर्ने गरेको होटल व्यवसायीहरु बताउँछन् ।

होटल संघ नेपालका पूर्वअध्यक्ष गौतम दास श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको हो । तीन महिनादेखि कलेजो क्यान्सरबाट संक्रमित उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले नारायणी अनलाइनलाई जानकारी दिए ।

सन् १९६० ताका फ्रान्सबाट होटल म्यानेजमेन्टमा डिप्लोमा गर्ने उनी पहिलो नेपाली हुन् । उनले होटल म्यानेजमेन्टमा डिप्लोमा गरेर फर्किइ नेपालको पर्यटन क्षेत्रमा व्यावसायिक रूपमा काम थालेका थिए। काठमाडौँ दरबार मार्गको शेर्पा होटल बन्द भएपछि श्रेष्ठले चितवनमा नारायणी सफारी सञ्चालनमा ल्याएका थिए। पर्यटन क्षेत्रमा लामो समयदेखि लागेका श्रेष्ठका छोराहरु सञ्जिव र राजिव दास श्रेष्ठले हाल उक्त होटल सञ्चालन गर्दै आएका छन् ।

होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दिनेशकुमार चुकेले होटल नारायणी सफारी चितवनकै पुरानो र निकै राम्रो होटल रहेको नारायणी अनलाइनलाई बताए । पटिहानीको घटगाईमा रहेको यो होटल विसं २०३७ सालमा स्थापना भएको थियो । निकुञ्जको छेउमा रहेको यो होटलमा कोरोना महामारी अघिसम्म १०३ जना कर्मचारीले काम गर्दथे भने अहिले ४५ जना कार्यरत रहेका छन् । ५२ वटा कोठा रहेको होटलमा ९८ वटा बेड क्षमता रहेको होटलका प्रशासकीय अधिकृत टेकनाथ तिमिल्सिनाले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ नारायणी सफारी होटल सुरुमा चन्द्रशेखर ज्ञवालीले सञ्चालन गर्दै आएकोमा पछि गौतमदास श्रेष्ठले किनेका हुन् । यो पटिहानी क्षेत्रको पहिलो होटल हो । आजभन्दा १५ वर्षअघिदेखि श्रेष्ठले सञ्चालनमा ल्याएको यो होटलमा १५ वटा हात्ती रहेका छन् । पर्यटकलाई हात्ती सफारी, ढुंगा सफारी गराउनमा होटल प्रशिद्ध रहेको छ ।’

सन् १९६० को दशकमा न्यूरोडस्थित हिमालय होटल संचालनमा ल्याएसँगै स्वर्गीय श्रेष्ठको होटल उद्योगमा प्रवेश भएको थियो। त्यतिखेर झोँछे, ठमेल, दरबारमार्ग क्षेत्रभर हिमालय होटल मात्र थियो। त्यतिखेर लाजिम्पाटस्थित होटल स्नो भ्यु मात्र सञ्चालनमा थियो।

श्रेष्ठले कुमार दीपकबहादुर सिंहसँगको साझेदारीमा दरबारमार्गमा होटल शेर्पा सञ्चालनमा ल्याएका थिए। हाल शेर्पा होटल शेर्पा मलमा परिणत भइसकेको छ । होटल बाहेक कुलेखानी जलविद्युत आयोजना ल्याउनका लागि पनि श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको अग्रजहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>