Breaking News

समयमै डायलासिस गर्न पाउँदैनन् भरतपुर अस्पताल आएका मिर्गाैलापीडित, डायलासिस मेसिनको अभाव

  • Logo
    app haru
  • ७ कार्तिक २०७८, आइतबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, कार्तिक ७ –
भरतपुर अस्पतालमा मिर्गाैलापीडितका लागि सहज उपचार उपलब्ध हुन नसकेको मिर्गाैलापीडितले गुनासो गरेका छन् ।

मिर्गाैलापीडित सरोकार समाज, नेपाल जिल्ला शाखा चितवनले आज आइतबार भरतपुर अस्पतालमा आयोजना गरेको मिर्गाैला रोग सचेतना कार्यक्रममा बोल्दै मिर्गाैला पीडितहरुले यस्तो सुनाएका हुन् ।

सरकारी अस्पतालमा डायलासिस गराउन नपाउँदा निजीमा जान बाध्य भएको पनि मिर्गाैलापीडितहरुले गुनासो गरेका छन् । पीडितहरुले निजी अस्पतालमा पनि मिर्गाैलाका बिरामीलाई उपचार पाउन सहज नभएको कार्यक्रममा बताए ।

कार्यक्रममा बोल्दै समाजका सल्लाहकार जीवनाथ पराजुलीले भरतपुर अस्पतालले अस्पतालमा आएका सबै बिरामीलाई सेवा दिन नसकेको गुनासो गरे ।

अस्पतालमा उपचारका क्रममा पालो कुर्दाकुर्दै मिर्गाैला पीडितको ज्यान जाने गरेको थुप्रै उदाहरणहरु रहेको बताउँदै उनले यसलाई बन्द गर्ने गरी काम गर्न माग गरेका छन् ।

उनले उपचार महँगो हुने हुँदा अधिकांश बिरामीहरु सरकारी अस्पतालमै उपचार गराउन खोज्ने बताए । तर सरकारी अस्पतालमा पालो कुर्नुपर्ने बाध्यताका कारण बिरामीले समयमै उपचार पाउन नसक्दा बिरामीको अवस्था झन् जटिल बन्दै जाने गरेको बताए ।

नयाँ बिरामीहरुलाई उपचार गर्न ठूलो समस्या हुने गरेको उनको भनाइ छ । सरकारीमा पालो नपाउने अनि निजी अस्पतालले नयाँ बिरामीलाई भर्ना नलिँदा समस्या उत्पन्न भइरहेको उनले बताए । निजी अस्पतलले सम्झौता भएको छैन भन्दै साउन यता नयाँ बिरामी भर्ना नलिइएको उनको भनाइ छ ।

डायलासिस गर्नका लागि रगत पनि अभाव हुने गरेको बिरामीहरुले गुनासो गरेका छन् । समयमा रगत नपाउँदा बिरामीहरुको डायलासिस हुन नसकेको थुप्रै उदाहरण रहेको पराजुलीले बताए ।

चितवनमा दुई सरकारी अस्पताल भरतपुर अस्पताल, रत्ननगर बकुल्लहर अस्पतालका साथै दुई निजी मेडिकल कलेज चितवन मेडिकल कलेज (सिएमसी) र पूरानो मेडिकल कलेज/कलजे अफ मेडिकल साइन्स (सिओएमएस) मा डायलासिस गर्ने गरिन्छ । पराजुलीले काठमाडौंपछि चितवनमा नै बढी बिरामीले उपचार गराइरहेको बताए ।

पराजुलीका अनुसार चितवनमा डायलासिस गर्नुपर्ने बिरामी ३६० जना रहेका छन् । बिरामीको तथ्यांकअनुसार चितवनमा न्यूनतम ५० वटा डायलासिस मेशिन आवश्यकता रहेको भए पनि जिल्लामा जम्मा ३०/३५ वटा मेशिनमात्र रहेको पराजुलीले बताए । चितवनमा उपचार नपाएर बिरामीहरु काठमाडौँसम्म जानुपर्ने बाध्यता समेत रहेको उनले बताए ।

उपचार खर्चको अभाव हुँदा कतिपय आफन्तले बिरामीलाई घरमै राख्ने गरेको पाइएको उनले बताए । उनका अनुसार एक पटक डायलासिस गर्दा निःशुल्क नभएको खण्डमा ८ देखि १० हजारसम्म खर्च हुने गरेको छ । सरकारले डायलासिस निःशुल्क गर्ने व्यवस्था गरेको छ । निःशुल्क भनिए पनि विभिन्न औषधिहरु खरिद गर्न बिरामीलाई पैसा लाग्ने गरेको उनले बताए । एउटा बिरामीलाई हप्तामा दुईदेखि तीन पटकसम्म डायलासिस गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा अस्पतालका मिर्गाैला रोग विषेशज्ञ डा सन्तोष गुरुङ्ले बिरामीको चाँपअनुसार अस्पतालमा स्रोत साधन नभएकाले सबै बिरामीलाई सेवा दिन नसकिएको बताए ।

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले अस्पतालमा अहिले ११२ बिरामीको उपचार भइरहेको बताए । ३० जना बिरामी थपिने अवस्थामा रहेको बताउँदै उनले उनीहरुलाई अझै पनि प्रतिक्षामा राखिएको बताए । अस्पतालमा १२ डायलासिस मेसिन भए पनि अहिले आठ वटा मेसिनले मात्रै काम गरेको बताउँदै उनले अब छिट्टै दुई वटा मेसिन थप गर्ने र अन्य बिरामीलाई पनि सेवा दिने बताए । उनले बन्दै गरेको अस्पतालको सि भवनमा २० श्ययाको डायलासिस वार्ड बनाउने तयारी समेत रहेको सुनाए ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारीले मिर्गाैलापीडित समस्यामा रहेको स्वीकार गर्दै उनले पीडितको माग संवोधनका लागि सरकारलाई नै झक्झकाउन आग्रह गरे । नीतिगत रुपमा सरकारले भतरपुर अस्पताललाई प्रत्यारोपणको जिम्मेवारी दिएको भए पनि विभिन्न कारणले त्यो कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।

प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले डायलासिस गर्ने बिरामीका लागि रगत चाहिएमा अग्रिम जानकारी गराउन आग्रह गरे । अग्रिम जानकारी नभएको खण्डमा कहिलेकाहीँ भन्ने बित्तिकै रगत दिन नसकिने गरेको उनको भनाइ छ ।

मिर्गाैलापीडितका आम समस्या र माग :

मिर्गैलापीडितका अन्य थुप्रै आम समस्याहरु रहेको समाजका अध्यक्ष टुमराज गुरुङ्गले जानकारी दिए । विशेषज्ञ डाक्टरको अभाव, आर्थिक संकट र यातायातको समस्याका कारण बिरामीहरु समयमा चेकजाँच गराउन आउन नसकिरहेको उनले जानकारी दिए । मिर्गाैलापीडितले सहज उपचार पाउने गरी विशेषज्ञ डाक्टरको व्यवस्थाका साथै आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने समाजको माग रहेको उनको भनाइ छ ।

समाजले विभिन्न माग राख्दै पटकपटक सरकारको ध्यानाकर्षण गराइरहेको भए पनि माग पूरा हुन नसकेको उनले बताए । सबै अस्पतालमा सहज र सरलरुपमा चेकजाँच गरी उपचार पाउनुपर्ने, सेवा भावले बिरामीको हेरचाह र उपचार गर्नुपर्ने, राज्य, संघ, प्रदेश र स्थानीय तहले समेत उपचार र यातायातको व्यवस्था मिलाइदिनुपर्ने, औषधि उपचारका लागि स्वास्थ्य बिमा खर्चमा वृद्धि गर्ने र मासिक जीविकोपार्जनका लागि निश्चित रकम दिने व्यवस्था गर्नुपर्ने, राज्यले दिने भनिएको मासिक सहयोग तुरुन्त लागु गर्नुपर्ने पीडित र पीडित परिवारहरुको माग रहेको गुरुङ्गले सुनाए । यसका साथै मिर्गाैला रोग र रोगीका समस्या र समाधानका उपायका विषयमा सरोकारवाला निकायबीच अन्र्तिक्रिया गरी ठोस पहल गर्नुपर्ने आजको आवश्यकता रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>