कृषि

पाखो खेतबारीमा लगाइने ‘घैया धान’ लोप हुँदै

Banner

तनहुँ, कात्तिक ७-

पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ ।

यसप्रति किसानको आकर्षणमा कमी र मौसम अनुकूल नहुँदा जिल्लामा घैया धान लोप हुने अवस्थामा पुगेको हो । जिल्लाका झण्डै ४० प्रतिशत क्षेत्रफलमा गरिँदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारणले जिल्लाबाटै लोप हुँदै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

जिल्लाको अधिकांश क्षेत्रमा गरिने यो धानखेतीमा मिहिनेत धेरै र उत्पादन कम हुने भएपछि हिजोआज लोप हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले बताउनुभयो । जिल्लाको भानु र आँबुखैरेनी गाउँपालिकाका न्यून मात्रामा यसको खेती गरिए पनि अन्य पालिकामा खासै नदेखिएको उहाँको भनाइ छ ।

“घैया धानप्रति कृषकको आकर्षण घट्दै जाँदा तनहुँलगायत देशैभर लोप हुने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “आकाशेपानीको भरमा धान खेती गर्नुपर्ने भएकाले मौसम अनुकूल पानी नपर्ने र मलखाद्यको मात्रा नमिल्ने भएकाले उत्पादनमा कमी हुँदै यो धान लोप हुने अवस्थामा पुगेको देखिन्छ ।”

जिल्लामा स्थानीय असली घैया धानको जात लोप भइसकेको र नयाँ प्रकारको विकासे जातको घैया छिटफुट मात्रामा खेती हुँदै आएको बताइएको छ । जिल्लामा घैया एक, घैया दुई, मकावनपुर, हर्दिनाथलगायत छरुवा जातको विकासे धान असिञ्चित क्षेत्रमा छरुवा प्रविधिबाट खेती गर्ने प्रचलन थियो । तर, अहिले त्यस्तो धानको उत्पादनमा कमी आउँदै गएकाले लगाउनै छाडिसकेको किसान बताउँछन् । जिल्लामा घैया धानका साथै मास, भटमाससमेत लोप हुने अवस्थामा पुगेको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले जानकारी दिनुभयो । त्यसैगरी जिल्लामा मकैखेती पनि क्रमशः घट्दै गएको बताइएको छ ।

मानिसको बसाइँसराइ सहरमुखी हुनु, युवा पलायन हुनु र वन्यजन्तु जनावरले खाएर नोक्सान पु¥याउनेलगायतका कारणले मकै, कोदोबालीतर्फ किसानको आर्कषण घट्दै गएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीको भनाइ छ । मकै उत्पादन घट्दै गएपछि जिल्लामा भारत र चाइनाबाट यसको आयात हुँदै आएको छ । उहाँले भन्नुभयो, “कुखुरा र बाख्रापालनतर्फ यहाँका किसानको आर्कषण बढ्दै गएकाले मकैको मागमा पनि वृद्धि भएको छ ।”

तनहुँ मासु र अण्डामा आत्मनिर्भर भएको छ । मासु र अण्डामा आत्मनिर्भर भएर बाह्य जिल्लामा समेत निर्यात गर्दै आएको केन्द्रले जनाएको छ । जिल्लामा मकैको उत्पादन भने क्रमशः घट्दै गएको पाइन्छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २२ हजार ४७ हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीतबाट ७३ हजार ६९३ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा २२ हजार ५१ हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीबाट ७३ हजार ६९० मेट्रिक टन र आर्थिक वर्ष २०७७/०७८ मा २२ हजार ३१९ हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीबाट ७४ हजार ५७४ मेट्रिक टन उत्पादन भएको छ । यसरी मकैको उत्पादनमा खासै वृद्धि नभएको केन्द्रले जनाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा छ हजार ५५८ हेक्टर क्षेत्रफलमा गरिएको कोदोखेतीबाट पाँच हजार ९०५ मेट्रिक टन, आर्थिक वर्ष २०७६÷०७७ मा पाँच हजार ६५२ हेक्टर क्षेत्रफलमा गरिएको कोदोखेतीबाट पाँच हजार ९०१ मेट्रिक टन र आव २०७७/०७८ मा छ हजार ३०६ हेक्टर क्षेत्रफलमा गरिएको कोदोखेतीबाट पाँच ९७२ मेट्रिकटन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा जमिनको मात्रा बढेको देखिए पनि उत्पादन खासै बढेको देख्न सकिँदैन ।

त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा जिल्लामा ६९ हेक्टर क्षेत्रफलमा गरिएको फापर खेतीबाट १७० मेट्रिक टन उत्पादन भएको थियो । सोही आर्थिक वर्षमा पाँच हेक्टर क्षेत्रफलमा गरिएको जौखेतीबाट पाँच मेट्रिक टन उत्पादन भएको कार्यालयका कृषि अधिकृत प्रकृति न्यौपानेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>