Breaking News
एमाले महाधिवेशनको लागि चितवनमा उपयुक्त ठाउँ हेरिँदै, नारायणी किनार र सौराहा प्राथमिकतामा

मधुसूदन दवाडी
चितवन, कात्तिक ७-
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन गर्नको लागि चितवनमा उपयुक्त ठाउँको खोजी भइरहेको छ ।
चितवनका एमाले शीर्ष नेताहरु र जिल्ला कमिटीले महाधिवेशनको उपयुक्त ठाउँ छनोटको लागि छलफल सुरु गरेको हो ।
चितवनका एमाले नेताहरु सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, पार्वती रावलसहित पार्टीका नेताहरुले सौराहाका व्यवसायीहरुसँग महाधिवेशनको उपयुक्त ठाउँको बारेमा आज छलफल गरेका छन् । सोही अवसरमा उनीहरुले सौराहाका विभिन्न सम्भावित ठाउँको स्थलगत अवलोकन पनि गरेका छन् । आगामी मंसिर १०–१२ मा चितवनमा गरिने महाधिवेशनको खुला शत्र नारायणगढको नारायणी किनार र बन्द शत्र सौराहामा गर्न उपयुक्त हुनेमा चितवनको एमाले नेतृत्व निष्कर्षमा पुगेको छ ।
नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले सौराहामा पार्टी महाधिवेशनको बन्द शत्र राख्न सौराहाका व्यवसायीहरु एकदमै सकारात्मक रहेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ महाधिवेशनको खुला शत्र नारायणी नदी किनारमा र बन्द शत्र सौराहामा गर्ने सोचमा छौं । यसबारे पार्टीमा रिपोर्टिङ हुन्छ । सुरक्षा निकायहरुसँग पनि छलफल र परामर्श गर्ने क्रममा छौं । ’
सौराहामा हात्ती महोत्सव गरिने वागमारा सामुदायिक वनको चौरलाई बन्द शत्र सञ्चालन गरिने स्थलको रुपमा छनोट गरिएको छ । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सौराहाका होटलहरुको क्षमता छ हजार जना राख्न सक्ने रहेकोले महाधिवेशनमा चार हजार जना राख्नको लागि खासै समस्या नपर्ने बताए । उनले भने, ‘ हामी सकभर बन्द र खुला शत्र दुवै सौराहामा नै गरौं भन्ने पक्षमा छौं । देशभर र विदेशका पनि प्रतिनिधिहरु सौराहा आउने भएकोले कोभिडको महामारीले थला पारको सौराहाको पर्यटनमा यसले थप उत्साह थप्ने छ ।’ पार्टीको स्थायी कमिटीले चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेसँगै चितवनमा के कसरी महाधिवेशनको व्यवस्थापन गर्ने भन्ने छलफल सुरु भएको छ ।


























